दार्चुलाको महाकालीमा दुई पुल सञ्चालनमा
दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने गरी थप दुईवटा झोलुङ्गे पुल सञ्चालनमा आएका छन्। महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणधीन झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा आएको हो।
झोलुङ्गे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले बिहीबार उद्घाटन गरे। मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताए।
पुल निर्माणले व्यासीको वर्षौंदेखिको पीडामा केही मलम लागेको छ’, उनले भने, ‘यहाँका स्थानीय बजार आउजाउ गर्न सहज हुने भएको छ।’ यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो।
नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएपछि दुवै देशका नागरिकलाई आवतजावतमा सहज भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने, ‘यो पुलले दुवै राष्ट्रको सम्बन्धमा नयाँ आयाम थपिदिएको छ।’
भारत पिथौरागढ जिल्ला अधिकारी जोशीले वर्षौंदेखिको नागरिकको समस्या झोलुङ्गे पुल सञ्चालनपछि सहजता आएको प्रतिक्रिया दिए। ‘नेपाल–भारत दुईदेशीय सम्बन्धमात्र नभई रोटीबेटीको सम्बन्ध अझै मजबुत बनाइदिएको छ’, उनले भने।
४ फागुन २०७९, बिहीवार २१:१५ बजे प्रकाशित































