लघुवित्त संस्थाविरुद्ध कैलालीमा आन्दोलन
कैलालीमा लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध ऋणीहरु आन्दोलित भएका छन् । लघुवित्त वित्तीय संस्थाहरुले चर्को ब्याज असुलेर दुःख दिएको उनीहरुको आरोप छ ।
गौरीगंगा नगरपालिका क्षेत्रमा सक्रिय भएका लघुवित्त वित्तीय संस्थाहरुले गैरकानुनी रुपमा १८ प्रतिशतसम्म ब्याज असुल्न थालेको ऋणीहरुको आरोप छ ।
नगरपालिकाका सबै वडामा हस्ताक्षर संकलन गर्दै लघुवित्त संस्थाको खारेजीको माग पनि उनीहरुले गरेका छन् । गाउँमा पुगेर बचत समूह गठन गर्दै लगानी गर्ने लघुवित्त वित्तीय संस्थाले मनलाग्दी रुपमा ब्याज लिन थालेपछि मर्कामा परेको गौरीगंगा नगरपालिका–४ की बासुदेवी सुनारले गुनासो गरिन् ।
लघुवित्त सहकारीले वार्षिक १८ प्रतिशतसम्म ब्याजमा ऋण दिने गरेका छन् । ‘एक लाख रुपैयाँ ऋण लिंदा सेवा शुल्क र बिमा शुल्क काटिएको भनेर हामीलाई ९० हजार मात्र दिइन्छ तर ब्याज लिंदा एक लाखकै लिने गरेका छन्,’ सुनारले भनिन्, ‘३र४ महिनामा सावाँ रकम चुक्ता गरेपनि उहाँहरुले वर्षभरीकै ब्याज हामीबाट लिइरहनुभएको छ ।’ उनले ब्याज चर्को हुँदा लघुवित्तबाट लिएको ऋण तिर्न महिलाहरुलाई निकै समस्या परेको बताइन् ।
गौरीगंगा नगरपालिका–४ की एकल महिला इन्द्रकला कुँवरले बुहारीले लघुवित्तले गाउँमा गठन गरेका महिला समूहबाट लिएको एक लाख रुपैयाँ ऋण तिर्न नसक्दा ब्याज मात्र ८० हजार पुगेको सुनाइन् । आफू र बुहारीले समूहबाट लिएको ऋण तिर्न नसकेपछि ५ कठ्ठा जग्गा लिलाम भएको बताइन् ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकी प्रमुख गोमती जोराले यसअघि ऋण लगानी गर्दा अग्रिम शुल्क लिने गरेकोमा अहिले उक्त व्यवस्था नरहेको बताइन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था चौमाला शाखाका प्रमुख हरिप्रसाद जोशीले १८ देखि २० प्रतिशतसम्म ब्याज लिने कुराको आरोपमा सत्यता नरहेको बताए । उनले राष्ट्र बैंकले निर्धारण गरेको सीमा भित्र रहेर कर्जामा साढे १३ देखि १५ प्रतिशतसम्म र ६ देखि साढे ७ प्रतिशतसम्म ब्याज लिनेरदिने गरिएको जानकारी दिए ।
२२ मंसिर २०७९, बिहीवार १४:०४ बजे प्रकाशित































