भीम रावलले टिकट नपाएपछि अछाम क्षेत्रीय निर्वाचन कमिटी संयोजक शाहले दिए राजीनामा

नेकपा एमालेका अछाम क्षेत्र नं. १ का क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । शाहले शनिबार एमाले जिल्ला कमिटी अछामलाई राजीनामा पत्र लेख्दै आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

शुक्रबार एमाले भीम रावलको ठाउँमा अछाम–१ बाट झपट बोहरालाई अघि बढाएपछि एमालेमा तीव्र असन्तुष्टि बढेको छ । रावललाई अछाम– १ मा टिकट नदिएको भन्दै क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका हुन् ।

१९ भदौमा निर्वाचन क्षेत्रीय कमिटीको बैठकले एकल नाम पठाउँदा पनि पार्टीले टिकट नदिएपछि आफूले राजीनामा दिएको उनले बताए । ‘रावलको एकल नाम हामीले पठाएका थियौँ । तर, टिकट पाउनु भएन,’ शाहले भने ‘त्यही भएर मैले पार्टी जिल्ला कमिटीमा राजीनामा पेस गरेको हँु ।’ रावलले टिकट नपाउनु गलत भएको उनको भनाइ छ ।  पार्टीको उक्त निर्णयको जिल्लामा चर्को विरोध भइरहेको समेत उनले बताए ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित एमाले नेताको नाम सिफारिस नभएको व्यक्तिलाई टिकट दिएको भन्दै अन्यले पनि राजीनामा बुझाउने क्रम जारी रहेको उनले दाबी गरे ।  एकल सिफारिस भएका रावलको नाम काटेर केन्द्रले जिल्ला इन्चार्ज झपट बोहरालाई टिकट दिने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्र छोडेर एमालेमा आएका बोहरा एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज छन् । अछाम जिल्ला कमिटीले भीम रावललाई सर्वसम्मत एकल सिफारिस गरेको भए पनि ओलीको रोजाइमा भने बोहरा परेका हुन् ।

अनेरास्ववियु अछामका सचिव भीम बडाहितले अछाम जिल्लाले एकल रुपमा भीम रावलको नाम सिफारिस गरेर पठाइसकेपछि अन्य नेता आउनु नहुने बताएका छन् । ‘जिल्लाले रावलको नाम सिफारिस गरेर पठाइसेकेपछि अन्य आउनु हुँदैन भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘कि त अगाडि नै झपट बोहरा पनि म पनि आकांक्षी छु, भनेर भन्नुपर्ने अहिले आएर रावललाई हटाउनु गलत हो ।’

‘एकल सिफारिस भएका लामो समयदेखि सक्रिय जित्ने उम्मेदवारको टिकट खोसेर अरुलाई दिइएको छ, यो षड्यन्त्रपूर्ण अन्यायको विरोध गर्छौँ,’  सचिव बडाहितले भने, ‘क्षेत्र नम्बर १ का सम्पूर्ण कमिटी र जिल्ला कमिटी पदाधिकारीले जिम्मेवारीबाट सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।,’


२२ असोज २०७९, शनिवार १४:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु