कैलाली–५ बाट के स्वतन्त्र उठ्दै छन् पुष्करनाथ ओझा ?

कैलाली–५ बाट प्रतिनिधि सभामा पुष्करनाथ ओझाले उम्मेदवारी दिने भएका छन् । यसअघि कांग्रेसबाट सो क्षेत्र जितिसकेका ओझाले यसपल्ट स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । शुक्रबार धनगढीको एक होटलमा निकटहरूसँग छलफल गर्दै प्रतिनिधि सभामा उम्मेदवारी दिने उनले घोषणा गरेका हुन् । यसअघि २०७४ मा कैलाली– ५ बाट कांग्रेस नेतृ आरजु राणा देउवा चुनाव लडेकी थिइन् । राणालाई हराउदै नेकपा एमालेका नारदमुनि रानाले चुनाव जितेका थिए ।

यसपल्ट राणालाई नै सर्वसम्मत सिफारिस गरिए पनि उनी समानुपातिकमा सुरक्षित भएकी छिन् । ओझाले कैलाली– ५ मा पर्यटक उम्मेदवार हाबी हुँदै गएको भन्दै स्वतन्त्र रूपमा उम्मेदवार बन्ने बताएका छन् ।

‘म कैलाली ५ निर्वाचन क्षेत्रका लागि सर्वदलीय उम्मेदवार हुँ। कुनै दलमा म नभए पनि यहाँको जनता मेरो पक्षमा छन्,’ उनले भने, ‘पर्यटक उम्मेदवारलाई विस्थापन गर्न र यसै क्षेत्रकालाई पार्टीले उम्मेदवार बनाउनुपर्छ भन्ने सन्देश दिन जरूरी छ ।,’
कांग्रेसबाट अघिल्लोपटक ओझाले टिकट नपाएपछि उनी रुष्ट बनेका थिए । उनलाई आरजु हराउन भूमिका खेलेको भन्दै साधारण सदस्यसमेत नरहने गरी गरिएको कारबाही अहिलेसम्म पनि फुकुवा भएको छैन ।

आरजु नेकपा एमालेका नारदमुनि रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनलाई कारबाही गरेको थियो ।

 


२१ असोज २०७९, शुक्रवार १३:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु