तलव नदिएपछि ८ लाख भारु चोरेर ल्याएको बयान
धनगढी उपमहानगरपालिका–१८ फूलबारीका ३२ वर्षीय हिरा बिकको घरबाट बरामद गरेको ८ लाख भारतीय रुपैयाँ भारतबाट चोरेर ल्याएको खुलेको छ । पक्राउ परेका बिकले भारतको मुम्बईस्थित आफूले काम गर्दै आएको घरका साहुले काम गरे वाफत तलव नदिएपछि ८ लाख भारु चोरी गरेर ल्याएका स्वीकार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार विगत लामो समयदेखि बिकले काम गर्ने साहुले ज्याला नदिएपछि उक्त पैँसा चोरेर घर फर्किएका हुन् ।
प्रारम्भीक बयानका क्रममा बिकले साहुले रकम नदिएरै चोरी गर्न बाध्य भएको बयान दिएको डिएसपी जोशीले बताए ।
बिक सानै उमेरदेखि ती साहुको घरमा काम गर्दै आएको तर मासिक रुपमा पाइने पारीश्रमिक नदिने गरेको बताएका छन् । पैँसा नै नदिएपछि साहुले पैँसा राखेको ठाउँबाट रकम चोरेर भागेको उनको भनाई छ ।
बिकले चोरी गरेको रकमको स्रोत खुलाएपछि जिल्ला प्रहरी कार्यालयले उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउँदै उक्त पैँसा सम्बन्धीत व्यक्तिलाई फिर्ता गर्ने तयारी गरेको छ ।
नेपालस्थित भारतीय दुतावासमार्फत चोरीको रकम सम्बन्धीत व्यक्तिलाई फिर्ता गरिने डिएसपी जोशीले बताए ।
२९ भदौ २०७९, बुधवार १३:२९ बजे प्रकाशित































