कैलालीमा चितुवाको छालासहित चार जना पक्राउ
कैलालीमा चितुवाको छालासहित चार जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिकाबाट बिहीबार राति प्रहरीले चितुवाको छालासहित चार जनालाई बोलेरो गाडीसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो गाडीका चालक डोटी जोरायल गाउँपालिका–२ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका(६ का टेकबहादुर रावत, धीरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ का राजेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार उनीहरूलाई गोदावरी नगरपालिका–२ तेघरी खानेपानी ट्याङ्कीनजिकबाट पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट चितुवाको छाला, टाउकोदेखि पुच्छरसम्म ४ फिट ७ इन्च, पुच्छरको लम्बाइ ३ फिट २ इन्च, चौडाइ २ फिट २ इन्च भएको चितुवाको छाला र प्लाष्टिकको कट्टासहित दुई किलो चितुवाको हड्डी समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका सबैजनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय कैलाली पठाइने डीएसपी जोशीले बताए ।
२० साउन २०७९, शुक्रवार १३:२१ बजे प्रकाशित













