धूमधामका साथ मनाइयो ‘गुरही’ पर्व (फोटो फिचर)

कैलालीमा थारु समुदायले मङ्गलवार गुरही पर्व धूमधामसँग मनाएका छन् । कैलालीमा थारु बाहुल्यता भएका क्षेत्रमा आज धूमधामका साथ गुरही पर्व मनाइएको हो ।
कैलाली तथा कञ्चनपुरको हरेक थारु गाउँमा धूमधामसँग आज गुरही पर्व मनाइएको छ ।
गुरही गाउँबाट पर गएर सेलाउँदा धान बालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रने जनविश्वास समेत रहिआएको छ ।
गुरही गाइने किराको प्रतीक सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास रहेको छ । यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ ।
यो पर्व वर्षा याममा खेतीपातीको काम सम्पन्न भएसँगै धान बालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ ।
कोभिड–१९ को संक्रमणका कारण गत वर्षमा यस पर्वमा खासै चहलपहल नभए पनि यस वर्ष भने पर्व धूमधामका साथ मनाइएको छ ।
१७ साउन २०७९, मंगलवार २१:०० बजे प्रकाशित