नेपालमा मनसुन प्रवेश गर्दै
अबको दुईरचार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ ।
महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगबाट मनसुन सुरु हुनेछ । उनले भने, ‘अहिले प्रि मनसुन र मनसुनको सुरुवाती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुईरचार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ ।’
प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताए । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ ।
देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्दछ ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
२२ जेठ २०७९, आइतवार १३:५२ बजे प्रकाशित






























