कैलाली जिससः उपप्रमुख पाउने भएपछि माओवादीले तोड्यो एमालेसँगको सहमति
कैलालीमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग जिल्ला समन्वय समितिका लागि सम्झौता गरेको नेकपा माओवादी केन्द्रले पुनः सत्तागठबन्धनसँग पनि सम्झौता गरेको छ ।
शनिबार कैलालीका मसुरीयामा सम्पन्न बैठकमा समन्वय समितिका लागि तीन दलीय गठबन्धन गर्ने निर्णय भएको नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेसले प्रमुखसहित एक सदस्य, माओवादीको उपप्रमुखसहित तीन सदस्य र नेकपा एकीकृत समाजवादीको तीन सदस्य पाउने सहमति भएको छ ।
यसअघि एमाले र नागरिक उन्मुक्तिसँग भएको सहमतिमा माओवादीले चार सदस्य पाउने सहमति गरेका थिए । नागरिक उन्मुक्तिले प्रमुखसहित २ सदस्य र एमालेले उपप्रमुखसहित २ सदस्य पाउने सहमति गरिएको थियो । उक्त निर्णयमा माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि ज्ञवाली (अखण्ड) र केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का इन्चार्ज सुरेन्द्र देवकरले सहमति जनाएका थिए । उनीहरू दुवैजनाको हस्ताक्षरसहितको निर्णय सार्वजनिक भएको थियो ।
शनिबार गठबन्धनमा माओवादीले तर्फबाट सम्झौता गर्नेमा माओवादीको तर्फबाट इन्चार्ज ज्ञवाली बैठकमा सहभागी भए पनि निर्णयमा सहभागी नभएको बताउँछन् । ‘उपस्थितिमा म सहभागी भएको हो तर, निर्णयमा म छैनँ’ उनले भने ‘मेरो पुरानो अडान छ ।’
शनिबारको बैठकमा उनको उपस्थितिमा नाम लेखिएको भए पनि हस्ताक्षर भने छैन । सहमतिमा कांग्रेसको तर्फबाट जिल्ला सभापति नारायण दत्त भट्ट, नेकपा एकीकृत समाजवादीको तर्फबाट केन्द्रीय सदस्य दीर्घ सोडारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य विरभान चौधरी र कृष्ण चौधरी, माओवादीका जिल्ला संयोजक विरमान चौधरी, नेकपा एकीकृतमा जिल्ला उपाध्यक्ष विमल जोशी र सचिव खडक रावत, कांग्रेसका जिल्ला सचिव केशव मिश्रले हस्ताक्षर गरेका छन् ।
२२ जेठ २०७९, आइतवार ०८:०९ बजे प्रकाशित































