बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २३ घाइते
रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको हो ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरूको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । घाइतेको उद्धार गरी अस्पताल पुर्याउने काम भएको उनले बताए ।
भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघि पनि पटक–पटक गाडीहरू खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएकोभैरहवा हुन सक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
२२ जेठ २०७९, आइतवार ०७:५५ बजे प्रकाशित






























