निर्वाचन आयोगको निष्कर्ष : संसदीय चुनाव मंसिरमै, दुई चरणमा

स्थानीय निर्वाचनमा सरकारले पर्याप्त सुरक्षा प्रदान गर्न नसकेपछि आगामी संसदीय चुनाव दुई चरणमा गर्नुपर्ने निष्कर्ष निर्वाचन आयोगले निकालेको छ। आगामी चुनावबारे आयोगको निष्कर्ष सुनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  भने, ‘स्थानीय तह निर्वाचनको अनुभवका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमै गर्न सुरक्षाका हिसाबले बढी सहज हुने आयोगको धारणा छ।’

संसदीय निर्वाचन आगामी मंसिर १० भित्रै सम्पन्न गरिसक्नुपर्ने आयोगको निष्कर्ष छ।तर, यसबारे सरकारलाई आयोगले अहिले नै मिति प्रस्तावित गरिनसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। उनले भने, ‘चुनावी मितिबारे अहिल्यै परामर्श दिइहाल्नु अलिकति छिटो हुने हुनाले निर्वाचन अवधिका लागि तोकिएको १२० दिनअगावै मितिसहित परामर्श दिने गरी तयारी अवस्थामा रहेको छ।’

संविधानविद्ह‍रुले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भनेर विवाद गरिरहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलिया भने मंसिरभित्रै निर्वाचन हुनुपर्ने गरी आयोगले मिति प्रस्ताव गर्ने बताउँछन्।

थपलियाले भने, ‘मानसिक रुपमा निर्वाचन आयोग मंसिरभित्र निर्वाचन गर्नुपर्छ भन्ने कुरामा ढुक्क छ।’ स्थानीय चुनावको व्यस्तताकै बीच आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आवश्यक आन्तरिक तयारी थालिसकेको उनले बताए।

थपलियाले भने, ‘स्थानीय तहको निर्वाचन हुँदै गरेको छ र अझै पनि प्रक्रियामा रहेको हुनाले निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे नेपाल सरकारलाई भेटेर मिति सिफारिस गर्न बाँकी रहे पनि आयोग चाहिँ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आवश्यक आन्तरिक तयारी गरिरहेको छ।’

यसैबीच अर्को एक उच्च राजनीतिक स्रोतले आगामी कात्तिक २६ वा मंसिर ४ गते संसदीय निर्वाचन गर्नुपर्ने मिति गठबन्धनका नेताहरुले प्रस्तावित गरेका छन्। यो मितिबारे औपचारिकरुपमा नभए पनि अनौपचारिक रुपमा आयोगसम्म पुगेको छ।

निर्वाचन आयोगका पदाधिकारीहरुले भने आसन्न निर्वाचनको मितिबारे आन्तरिक छलफल अघि बढाइसकेका छन्। सत्तारुढ दलले कात्तिक २६ गते शनिबार चुनाव गर्ने सोचे पनि आयोगका अधिकारीहरुले दशैं तिहारलाई मध्यनजर गर्दै कात्तिक २७ देखि २९ सम्मको मिति उपयुक्त होला कि भन्ने छलफल गरेका छन्।

अर्को चरणमा मंसिरको पहिलो साता चुनाव गरेर १० गते कटाउन नहुने निष्कर्ष आयोगले निकालिसकेको स्रोतले बतायो।

 


१८ जेठ २०७९, बुधवार १८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु