राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए गणतन्त्र दिवसको शुभकामना

आज जेठ १५ गते गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । आज बिभिन्न कार्यक्रमको आयोजना गरि १५औँ गणतन्त्र दिवस मनाइदैँछ ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधामन्त्री शेर बहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताए । गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उहाँले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताए ।

१५ औँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरे ।

प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको उल्लेख गरे ।


१५ जेठ २०७९, आइतवार ०८:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु