मन्त्री बडूको गृहजिल्ला दार्चुलामा कांग्रेस शून्य

दार्चुलामा नेपाली कांग्रेस ‘क्लिन स्विप’ भएको छ । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको दार्चुलामा कांग्रेसले एउटामा पनि प्रमुखरअध्यक्ष जित्न सकेन । दार्चुला कांग्रेसका प्रभावशाली नेता तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला पनि हो ।

जिल्लाको नौमध्ये चार पालिकामा नेकपा (माओवादी केन्द्र) र पाँचमा नेकपा (एमाले) का प्रमुखरअध्यक्ष निर्वाचित भएका छन् । ०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले जिल्ला सदरमुकामसमेत रहेको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका तथा तीन गाउँपालिकामा बहुमतका साथ विजय प्राप्त गरेको थियो । यसअघि जिल्ला समन्वय समितिमा पनि कांग्रेसकै नेतृत्व थियो ।

यसपटक कांग्रेसले दुवै नगरपालिका गुमाएको छ । महाकाली नगरपालिका मन्त्री बडूको गृहपालिका पनि हो । यसपटक दार्चुलामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । माओवादीले आफ्नो भागमा परेका चारै पालिका जितेको छ भने कांग्रेसले आफ्नो भागमा परेका पाँचवटै पालिका गुमाएको छ ।

कांग्रेसले माओवादीसँग गठबन्धन गरेका अपिहिमाल गाउँपालिकामा माओवादीका भगतसिंह बोहरा ठेकरे, नौगाड गााउँपालिकामा माओवादीका दलजीत सिंह धामी, मार्मा गाउँपालिकामा जमनसिंह धामी र लेकम गाउँपालिकामा रामदत्त जोशी विजयी भएका छन् ।

यस्तै, दुहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्रबहादुर सिंह बडाल, ब्यास गाउँपालिकामा एमालेका मंगलसिंह धामी, महाकाली नगरपालिकामा एमालेका नरसिंह चैसिर, मालिकार्जुन गाउँपालिका एमालेका हिरासिंह धामी, शैल्यशिखर नगरपालिकामा एमालेका विजयसिंह धामी प्रमुख पदमा विजयी भएका छन् ।


३ जेठ २०७९, मंगलवार १२:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु