bhatbhathni

डिप्रेसनमा गएको महसुस भएको छ भने नगर्नुस् यी ५ काम

मानिसहरुमा  कामको तनाव तथा अन्य विभिन्न कारणले डिप्रेसनको समस्या बढ्दै गएको छ । डिप्रेसनलाई स्वास्थ्यका हिसाबले निकै हानिकारक मानिन्छ । यसले मान्छेमा उदासीनता, नैराश्यता र वैमनश्यता ल्याउँछ ।

डिप्रेसनका कारण कतिपयको जिन्दगी नै तहसनहस हुन पुग्छ । आफू डिप्रेसनमा गएको महसुस भए आफ्नो ख्याल आफैंले राख्नुपर्छ । यस्तो बेला आफ्नो भावना व्यक्त गर्न नचाहँदा समस्या झन् बढ्न सक्छ ।

डिप्रेसनको समस्या देखिए आफूलाई कहिल्यै एक्लो राख्न नहुने मनोचिकित्सकहरु बताउँछन् । एकान्तपनको अन्त्य गर्नुपर्छ ।

एक्लोपनबाट जोगिनुस्

डिप्रेसनको लक्षण देखिए आफूलाई एक्लो राख्नु हुँदैन । एकान्तपन र कोठाबाट मुक्त गर्नुपर्छ । यस्तो बेला खुला हावा बहने स्थान, खुला वातावरण र साथीभाइसँग समय बिताउनुपर्छ ।

डिप्रेसनमा हुँदा मोबाइल, ल्यापटप तथा भिडियो गेमबाट समेत बच्नुपर्छ । यसको कारण तनाव बढ्न सक्छ । यस्तो बेला मुडी तथा दुःख लाग्ने संगीतबाट टाढा बसेर साथीभाइ तथा चिकित्सकको सल्लाह लिनुपर्छ ।

आवश्यकता भन्दा बढी खाना नखानुस्

कतिपयले भोक नहुँदा नहुँदै पनि खाना खाने गर्छन् । जसका कारण उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्छ । बढी खानाले अनिन्द्राको समस्या, ग्यास्ट्रिकका साथै मानसिक समस्या समेत आउन सक्छन् ।

डिप्रेसन भएको बेला आवश्यकताभन्दा बढी खानेकुरा खाए शारीरिक समस्या आउँछन्, जसले झन् ठूलो समस्या निम्त्याउँछ ।

मध्यपान नगर्नुस्

मदिराको सेवन शरीरका लागि हरेक दृष्टिकोणबाट हानिकारक हुन्छ । डिप्रेसनको बेला मदिरा सेवन गर्दा समस्या थप बढाउँछ । मध्यपानको लतले शारीरिक क्षमताका साथै मानसिक क्षमता समेत कमजोर बनाउँछ ।

यस्तो बेला प्रशस्त मात्रामा पानी पिउने र झोलिलो पदार्थ खाने गर्नुपर्छ । जसका कारण शरीरमा अक्सिजनको मात्रा कायम रहिरहन्छ ।

ओछ्यानमा पल्टिरहने बानी त्याग्नुस्

डिप्रेसनमा हुँदा एक्लै ओछ्यानमा पल्टिरहने बानीले झन् समस्या ल्याउन सक्छ । यसबाट अनिद्राको समस्या बढ्छ । सुतिरहनु, पल्टिरहनुको सट्टा हिंडिरहनु पर्छ । साथै व्यायाम गर्ने, नाच्ने क्रियाकलापमा सहभागी हुनु यसबाट पार पाउने राम्रो विकल्प हुन्छ । यस्तो बेला सकेसम्म आफूलाई व्यस्त राख्नुपर्छ ।

सामाजिक सञ्जाल, भ्रामक खबर र नकारात्मक तथा दुःखद् घटना र विचारबाट टाढा रहनु पर्छ । यस्तो बेला आफूलाई अरुसँग तुलना गर्नु हुँदैन ।

चिकित्सकसँग सल्लाह लिनुस्

डिप्रेसनको समस्या भएमा आफ्नो समस्यालाई नजरअन्दाज गर्नु हुँदैन । यसको लक्षण देखिएमा चिकित्सक तथा थेरापिस्टसँग सल्लाह लिनुपर्छ । आफू तथा अरुको बारे गहिरो चिन्तनमनन गर्न छोडेमा केही राहत पाइन्छ ।

डिप्रेसनबाट पार पाउन मनोविद् तथा चिकित्सकको परामर्श लिनुका साथै घरपरिवार आफन्त तथा साथीभाइसँग समय बिताउनुका साथै खुलेर कुरा गर्नुपर्छ ।

डिप्रेसनमा गएकाहरुले आशावादी भइरहनुपर्छ । मानिस कुनै न कुनै समय मानसिक तथा डिप्रेसनको समस्याबाट गुज्रेको हुन्छ ।

 

 


२८ वैशाख २०७९, बुधवार ०८:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु