कञ्चनपुरमा आँखा शिविर सम्पन्न
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पिपलाडीमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजनामा आँखा शिविर संचालन भएको हो ।
गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा गाउँमै गएर निुश्लक आँखा परीक्षण तथा उपचार गरिएको सुदूरपश्चिमाञ्चल क्याम्पसका कार्यक्रम निर्देशक टंक जोशीले बताए । सो अवसरमा विशेषज्ञ चिकित्सकबाट परामर्श तथा निःशुल्क आँखाको औषधिसमेत वितरण गरिएको उनले जानकारी दिए । मोतिविन्दु देखिएका तथा आँखामा मासु पलाएका करिब ४० जना बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने भएको छ ।

सो शिविरमा करिब चार सय जनाको आँखा परीक्षण गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिमाञ्चल एकेडेमीले सो कार्यक्रम आयोजना गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने कार्यक्रम निर्देशक जोशीले जानकारी दिए ।

२८ चैत २०७८, सोमवार १६:०८ बजे प्रकाशित













