स्वास्थ्य शिविरबाट ४ हजार ७०० बालबालिका लाभान्वित
दुर्गम क्षेत्रका बालबालिकाहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यसहित बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
स्वास्थ्य कार्यालयको आयोजनामा सञ्चालन भएको शिविरबाट ४ हजार ७०३ बालबालिका लाभान्वित भएको कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए। १० स्थानीय तह रहेको बैतडीका प्रत्येक स्थानीय तहका एकरएक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो।
शिवनाथ गाउँपालिकाको पिपलकोट मावि उदयदेव, सिगास गाउँपालिकाको शारदा मावि ढंगाड, पुर्चौडी नगरपालिकाको भूमिराज मावि गहताल, पाटन नगरपालिकाको त्रिपुरेश्वर मावि बशन्तपुर, सुर्नया गाउँपालिकाको रौलेश्वर मावि रौलेश्वर, डिलाशैनी गाउँपालिकाको सरस्वती मावि नानरा, दोगडाकेदार गाउँपालिकाको भगवती मावि सित्तड, दशरथचन्द नगरपालिकाको कालिका मावि थालिगडा, मेलौली नगरपालिकाको विजयपुर माविको तितावै र पञ्चेश्वर गाउँपालिकाको जयपुर मावि जेवलकट्टेमा शिविर सञ्चालन गरिएको थियो।
शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थी स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो। दाँतसम्बन्धी समस्या सबैभन्दा बढी देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। दाँतसम्बन्धी १ हजार ६२७, आँखासम्बन्धी १ हजार ५८४ र कानसम्बन्धी १ हजार ४९२ बालबालिकाको उपचार तथा चेकजाँच गरिएको छ।
२३ फागुन २०७८, सोमवार १५:२६ बजे प्रकाशित































