एमसिसी विरुद्ध भ्रम फैलाउने काम भयो : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताए । शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्र्दै उनले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताए।
एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै उनले काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने छ भने। एमसिसी नेपालले नै माग गरेको आयोजना भएकाले यो नेपालको हितमा रहेको पनि उनले स्पष्ट पारे।
उनले विगतका सरकारहरुले पनि यस परियोजनाको सहमति तथा सम्झौताका विभिन्न चरणमा निरन्तरता दिँदै आएका प्रसंग उल्लेख अहिले आएर उनीहरुले नै त्यसलाई गिजोल्ने काम गरेको बताए। उनले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने बताए।
फरक प्रसङ्गमा उनले कांग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गरे।
१ फागुन २०७८, आइतवार १०:११ बजे प्रकाशित































