काँग्रेस टीकापुर नगरकार्यसमितिको पदस्थापन, विभिन्न पदका दाबेदारले मागे ‘भोट’

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचित भएका टीकापुर नगरकार्य समिति तथा वडा नं. १ का पदाधिकारीहरुको शुक्रबार पदास्थापन सम्पन्न भएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, पूर्वकेन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईलगायतको आतिथ्यतामा नयाँ कार्यसमितिको पदस्थापना गरिएको हो ।

निवर्तमान नगर सभापति धनराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले पार्टी बलियो भएपछि मात्रै नेता कार्यकर्ता बलोयो हुने बताए । उनले १४औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुले पार्टीलाई बलियो बनाएर लैजान गम्भीर भएर लाग्न सुझाए ।

‘लोकतान्त्रिक पद्धतिमा हार जित स्वभाविक हुने भएकाले यसलाई सबैले सहजरूपमा लिनुपर्छ,’ उनले भने, जसरी केन्द्रसम्मको महाधिवेशन सम्पन्न भएको छ, त्यसैगरी जिल्लाको महाधिवेशन पनि सम्पन्न गर्नुपर्छ ।’

कार्यक्रमका विशिष्ट अतिथीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदेश संसदीय दलका नेता डा. रावलले पार्टीलाई एक ढिक्का बनाउन देखिएको चिन्ताले पार्टीलाई जुझारु बनाउनेमा विश्वस्त भएको बताए । उनले पार्टीलाई बचाउन सकेमा मात्रै भोलि पद प्राप्त गर्न सकिने बताए ।

अर्का विशिस्ट अतिथि तथा काँग्रेसका सुदूरपश्चिम प्रदेश समितिका उपसभापति जनकराज चौधरीले काँग्रेसले आफूलाई मास पार्टीको रुपमा स्थापित गर्दै आएको बताए । उनले पार्टीलाई कार्यकर्ता मास पार्टीको रुपमा विकसित गर्न आवश्यक रहेको बताए ।

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले पार्टीमा देखिएको अन्तरद्वन्दको तितो अनुभवलाई मध्यनजर राख्दै पार्टीलाई अबको नेतृत्वले अगाडि बढाउन आवश्यक रहेको बताए । उनले नेपाली काँग्रेसले मात्रै नेपालमा लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेको भन्दै कम्युनिस्टहरु कहिल्यै पनि लोकतान्त्रिक अभ्यासमा जान नसकेको बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाहले अधिवेशनमा भएको हारजित स्वभाविक भएको बताउँदै लोकतान्त्रिक अभ्यासमा विजेता र उपविजेता हुनु स्वभाविक रहेको बताए । शाहले काँग्रेसले आगामी तीन तहको निर्वाचनमा काँग्रेसको जित सुनिश्चितका लागि लाग्ने योजना नै पहिलो हुने बताए ।

कार्यक्रममा नेपाली काँगेसकी सुदूरपश्चिम प्रदेश समिति सदस्य केशरी बिष्टले पार्टीको महत्त्वपूर्ण पदमा महिलाहरुलाई भूमिकाबाट बञ्चित गराइएको दुखेसो पोखिन् । उनले महिलालाई भोट बैंकको रुपमा मात्रै प्रयोग नगरी नेतृत्वमा पनि महिलाको भुमिकालाई सुनिश्चित गर्न आग्रह गरिन् ।

पदका आकांक्षीले मागे ‘भोट’

पदस्थापन कार्यक्रमको अवसरमा विभिन्न नेताहरुले आगामी माघ १५ गते हुने काँग्रेसको जिल्ला अधिवेशनका लागि उम्मेदवारी दिने घोषणासमेत गरेका छन् । कार्यक्रममा सभापतिका लागि यसअघिनै सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका नेता भीम बडुवालले कार्यक्रमको सुरुवाती चरणमै आफू सभापतिका लागि लड्ने भएकाले सहयोग गर्न आग्रह गरे । अघिल्लो अधिवेशनमा पनि आफू सभापतिमा पराजित भएकाले यसपटक जिताउन आग्रह गरे । 

त्यस्तै यसअघिनै उम्मेदवारी घोषणा गरिसकेका अर्का सभापतिका उम्मेदवार प्रकाश बमले पनि आफूलाई सभापतिका जिताउन आग्रह गरे । उनले आफू जिल्ला कार्यसमितिमा काम गरेको अनुभवी भएकाले सभापतिको उपयुक्त उम्मेदवार भएकाले सभापतिमा आफूलाई सहयोग गर्न मतदातालाई अनुरोध गरे ।

त्यसैगरि अर्का नेता नवराज रावलले पनि सोही कार्यक्रममार्फत जिल्ला सभापतिमा आफ्नो उम्मेदवारी रहने बताए । उनले काँग्रेसलाई बलियोग र एकताबद्ध बनाउनेलगायतका एजेण्डासहित सभापतिमा उम्मेदवारी दिने बताए ।

त्यसैगरी जिल्ला पार्टी उपसभापतिका लागि नेता लोकराज पाण्डे आगोले पनि उम्मेदवारी घोषणा गरे । उनले अग्रहको सम्मान गर्दै कैलाली काँग्रेसलाई उर्जावान बनाउन आफूले उपसभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बताए ।

यस्तै उक्त कार्यक्रममा सचिवमा पनि तीन जनाले उम्मेदवार रहने जानकारी गराए । कार्यक्रमको सुरुवाती चरणमो सबैभन्दा पहिलो अमृत बिसीले काँग्रेसको जिल्ला सचिवका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरे । पार्टीमा क्रियाशील भएर लागेको लामो समयपछि आफूले यसपटक जिल्ला सचिवमा आकांक्षा राखेको र मतदान गरेर जित दिलाउन आग्रह गरे ।

यसैगरी कार्यक्रममा पार्टीका जिल्ला सदस्यसमेत रहेका नृपबहादुर सुनारले पनि सचिवमा आफ्नो उम्मेदवारी रहने बताए । उनले कार्यसमितिमा रहेर काम गरेको अनुभवलाई सचिव भएर थप व्यवहारमा उतार्ने बताए । यस्तै, नेता कृष्ण पाण्डे र थर्क शाहले पनि सचिवमा उम्मेदवारी दिने घोषणा गरेका थिए । यही पुस २७ गते हुने भनिएको काँग्रेसको जिल्ला अधिवेशन आगामी माघ १५ गतेका लागि तोकिएको छ ।

पदास्थापन कार्यक्रमपछि कार्यक्रमको अध्यक्षता निर्वाचन नगर सभापति नरेशकुमार खत्री र वडा सभापति चक्रबहादुर बटालाले गरेका थिए भने कार्यक्रमको सञ्चालन नगर सचीव प्रकाश शाहले गरेका थिए ।


२४ पुस २०७८, शनिवार १४:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु