कैलाली युवक हत्या प्रकरण : घटनासंग सम्बन्धीत अडियो बाहिरियो (अडियोसहित)
कैलालीमा एक युवकको विभत्स हत्या भएको घटनासंग सम्बन्धित अडियो बाहिरएको छ ।
जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको सोही ठाउँको अमरावती सामुदायिक वनमा घाँटी रेटेर विभत्स हत्या भएको विषयमा भएको कुराकानी युटुबबाट सार्वजनिक भएको हो ।
सुदूरपश्चिम टीभी नामक युटुबबाट भएको अडियोमा सो घटनामा संलग्न व्यक्ति र अर्का एक व्यक्तिबीच घटनाका बारेमा कुराकानी भएको छ । घटना भएपछि कुराकानी भएको छ ।
अडियोमा बोल्ने व्यक्तिले आफ्नो नाम मनोज भनेर भनेका छन् । उनले आफूसहितका साथीहरु भारतको ब्यङलोर जानका लागि हिँडिसकेको र रुपडिया पुगिसकेको भनेका छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका बेला अडियो बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले परिवारलाई अडियो पठाउने व्यक्तिलेनै अरुलाई पनि दिएको हुनसक्ने बताए ।
‘हामीलाई मृतकको परिवारले अडियो उपलब्ध गराएको हो,’ उनले भने, ‘जसले परिवारलाई अडियो दियो उसैले अरुलाई पनि दिएको हुनसक्छ ।’
अमरावती वनमा घाँटी रेटर टाउको अलग पारिएको अवस्थामा शनिबार बेलुका युवकको शव फेला परेको छ । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए । उनले अहिले घटनास्थलमा शव उठाउने लगायतको प्रक्रिया भइरहेको बताए ।
उनका अनुसार घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।
घटनास्थल हेर्दा सुरुमा उनलाई रुखमा बाँधेर नग्न बनाई घाँटी रेटर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
४ पुस २०७८, आइतवार ११:५८ बजे प्रकाशित













