भारतीय रक्षाप्रमुख रावतबारे प्रधानसेनापतिले भने : हामीले एक सच्चा मित्रलाई गुमायौँ
प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावतको निधनमा समवेदना प्रकट गरेका छन्।प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति बुधबार साँझै फोन र पत्रमार्फत समवेदना व्यक्त गरेका छन।
‘भारतीय सेनाका सीडीएस रावत, उहाँकी श्रीमती मधुलिका रावत तथा अन्य ११ जना सैनिकहरुको मिति २०७८ मंसिर २२ गते भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटनामा भएको असामयिक निधनको खबरले नेपाली सेनालाई दुखी तुल्याएको छ,’ सेनाको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापति शर्माले यस दुःखद घटनाबाट आफू स्तब्ध भएको र यसबाट भारतीय सेनालाई अपूरणीय क्षति पर्नुका साथै नेपाली सेनाले समेत एक सच्चा मित्रलाई गुमाएको उल्लेख गरेका छन्।
उनले भारतीय सेना तथा शोक सन्तप्त परिवारप्रति समवेदना तथा दिवगंत आत्माको चीर शान्तिको कामनासमेत गरेका छन् ।मंसिर २४ गते नयाँ दिल्लीमा हुने जनरल रावतको अन्तिम सम्मान कार्यक्रममा प्रधानसेनापति शर्मा र सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की जाने भएका छन्।
३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष रहेका जनल रावतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २९ मार्च २०१७, मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गरेकी थिइन्।जनरल रावत १३ फ्रेबअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रीका अवसरमा नेपाली सेनाले गरेको सैनिक कार्यक्रममा सहभागी भएका थिए।
२३ मंसिर २०७८, बिहीवार १३:४३ बजे प्रकाशित































