एमसिसी पारित गर्ने भनेर देउवासँगै आफूले पत्र पठाएको छैन : प्रचण्ड
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयमा गलत बुझाइ हुनपुगेको बताएका छन्।
इन्द्रेणी देउसी भैलो समूहसँग कुरा गर्दै उनले एमसिसी पारित गर्ने भनेर प्रधानमन्त्री देउवा र आफूले पत्र नपठाएको स्पष्ट पारे।
सबै दलसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई पारित गर्न नसकिने भएकोले त्यसको लागि समय चाहिने ब्यहोराको पत्र पठाएकोले भ्रममा नपर्न प्रचण्डले आग्रह गरे।
देउवा प्रधानमन्त्री र आफ्नो पार्टी पनि सरकारमा हुँदा भएको सुरुको सहमतिमा अमेरिकाले अनुदान सहयोग दिने र नेपालले लिएर विकास गर्ने भन्ने मात्रै भएको प्रचण्डले स्पष्ट पारे।
पछि भएको सम्झौतामा संसदमा लगेर ऐन सरह हुनेगरी पारित गर्ने कुरा थपिएर आएपछि आशंकाहरू बढेको प्रचण्डको भनाइ छ। आशंकाहरूको सम्बोधन नगरेर एमसिसी पास नहुने प्रचण्डले बताए।
१९ कात्तिक २०७८, शुक्रवार १६:३३ बजे प्रकाशित































