व्यापारी हत्या प्रकरणः आरोपित चारैजना जेल चलान
बैतडीको सुर्नया गाउँपालिका–४ व्यापारी कमलसिंह महराको हत्या गरेको आरोपमा पक्राउ परेका ४ जनालाई कारागार चलान गरिएको छ।सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिशसिंह महरालाई कारागार चलान गरिएको हो।
चारै जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।आरोपितमाथि प्रहरीले आफ्नो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पेश गरेकोमा अन्तिम फैसला हुन भने बाँकी रहेको छ।
सुर्नया–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा असोज ७ गते बिहान सन्सेरीमाडौंमै मृत फेला परेका थिए।मृतक महराको टाउको, छाति र शरीरका अन्य भागमा चोट रहेकाले हत्या भएको आशंका गर्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो।
घटनापश्चात अनुसन्धानमा गएको निरीक्षक शाही नेतृत्वको टोलीले उनीहरुलाई घटना भएको २४ धण्टा नबित्दै समातेको थियो।असोज ६ गते राति मदिरासेवन गरि फलामको रडले हिर्काएर महराको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।
१७ कात्तिक २०७८, बुधवार १७:३९ बजे प्रकाशित































