कैलालीमा सुरक्षा व्यवस्था कडा : ड्रोन क्यामरामार्फत चेकजाँच
कैलालीमा सुरक्षा व्यवस्था पारेको छ । नेपालीहरुको महान चार्ड दशैं तथा तिहार लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले सुरक्षा व्यवस्था कडा पारेको हो ।बुधबार धनगढीस्थित बसपार्क, ट्राफिक चौराह र गोदावरी नगरपालिकाको अत्तरिया बजार सहित बसपार्क क्षेत्रमा तालिम प्राप्त कुकुर सहित ड्रोन क्यामराबाट चेकजाँच गरिएको हो ।
जिल्लाबासीहरुलाई ढुक्कका साथ चार्डपर्व मनाउन भन्दै अबैध क्रियकलापहरु रोक्नका लागि प्रदेशको राजधानी रहेको बजार क्षेत्र र बसपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बाहिरबाट आएको बिस्पोटक पदार्थ सम्बन्धि अनुसन्धान गर्ने रानी नामक कुकुर सहित ड्रोन क्यामराको टोलीले बुधबार दिउँसो धनगढी स्थित बसपार्क, ट्राफिक चौराह र गोदावरी नगरपालिकाको अत्तरिया बजार सहित बसपार्क क्षेत्रमा चेकजाँच गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले तयार पारेको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार बसपार्क र बजारको बढी भिडभाड हुने क्षेत्रहरूमा तालिम प्राप्त कुकुर र ड्रोन क्यामराको प्रयोग गरेर चेकजाँचमा तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
जिल्लाभरिको सुरक्षा व्यवस्थालाई त्रुटि रहित, भरपर्दो, विश्वसनीय र मजबुद बनाई जनजीवनलाई सुखमय बनाउनुका साथै जनताहरुलाई पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिलाउन तालिम प्राप्त कुकुरहरू सहित चेकजाँच गरिरहेको उनले बताए । यसका साथै सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधिलाई दृष्टिगत गरेर चेकजाँचमा थप कडाइ गरिएको जनाएको छ ।
२८ असोज २०७८, बिहीवार १४:३६ बजे प्रकाशित












