बैतडीमा दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द
दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो।
जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, विशालपुर, सिद्धेश्वर, शर्माली, हाट, रिम, कोटपेटरा र गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको छ। तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा बाँकी संस्थामा सेवा बन्द रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए।
हाल जिल्लाका नौ सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालनमा रहेको छ। उनले भने, “गएको दुई वर्षदेखि १५ स्थानबाट सुरक्षित गर्भपतन सेवा बन्द छ, कर्मचारी समायोजनपछि यहाँ रहेका तालिमप्राप्त दक्ष जनशक्ति बाहिर गएपछि समस्या भएको हो।”
हाल सेवा बन्द रहेका १५ वटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने, “स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थाका लागि, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरेका छौँ।” सूचीकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी नहँुदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखिम बढ्दै गएको छ।
सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका केही स्वास्थ्य संस्थाबाट सो सेवा बन्द भएपछि असुरक्षित गर्भपतन गराउने जोखिम बढ्दै गएको हो। जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। “असुरक्षित गर्भपतनले ज्यान जोखिम पर्नुका साथै स्वास्थ्यमा पनि गम्भीर असर पार्दछ, गर्भपतन गराउँदा सुरक्षितरुपमा नै गराउनुपर्दछ। ”
यसैबीच सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा बन्द भएपछि पछिल्लो समय बैतडीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ। स्वास्थ्य कार्यालय बैतडीको गएको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको पाइएको हो।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५र७६ मा ७७७, ७६÷७७ मा ५८१ र ७७र७८ मा ५६५ ले सुरक्षित गर्भपतन सेवा लिएका छन्। तीमध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्षमुनिका रहेका बताइएको छ। जिल्लामा आव २०७५र७६ मा २४, आव २०७६र७७ मा २० र गत आवमा ११ जना २० वर्षमुनिकाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
सुरक्षित गर्भपतन सेवा दिने स्थान घटेका, परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए।
उनले भने, “सुरक्षित गर्नपतनको सेवा दिने संस्था घटेकाले र परिवार नियोजनको सेवा लिने बढेकाले सुरक्षित गर्भपतन गराउने घटेका हुनसक्छन्।” तराईतिर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिएकाले तराईमा गएर पनि सुरक्षितरुपमा गर्भपतन गराएको हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ।रासस
२५ असोज २०७८, सोमवार १२:३८ बजे प्रकाशित































