कविता: दशैं
आगनमा जब सयपत्री र मखमलीले कोपिला हाल्न थाल्थे
खेतमा सुनौला धानका बालाहरु लहलह झुल्दै गर्थे
दशै नजिकै रहेको आभास हुन्थ्यो
धान काट्ने र भित्राउने चटारोसंगैं
घरलाई लिप्ने र श्रीङ्गार्न पनि भ्याइनभ्याई हुन्थ्यो
त्यो दिन क्या दिन थियो जब
घरमा दसैं भित्रिने तरखर हुन्थ्यो
खेतबाट भित्राइएको नयाँ धानबाट
चिउरा बनाउन आमा र हजुरामा
धान रातभरी भिजाएर राख्थे
बिहान भिजाएको धानलाई
पानीबाट निकाल्दा
धानको त्यो सुगन्ध आज पनि
हृदयको कुनामा मगमाइ रहन्छ
आगनमा धानको कुन्यु
त्यही माथि शदरको रात
अनि बाहिर बसेर ताराहरु र चाँदनीका
चमकहरुले मन प्रफुल्ल हुने
ओहो त्यसरी पो आउँथ्यो त दशैं
हातमा मोवाइल थिएन
घरमा बिजुली बत्ती थिएन
थियो त एउटा लालटिन र
टुकीहरु
दैला अगाडि झुन्डिएको त्यो लालटिनले
सबैको मुहारमा कान्ति छोड्थ्यो
आजको यो बिजुलीको उज्यालोले
भन्दा कयौ गुणा उज्यालो
टुकी र लालटिनले पोख्थे
ती उज्यालो भित्र भित्रिएर आउँथ्यो दशैं
आज दशैं आउँछ
आउँछ र जान्छ
तर खुशी र उमंग भन्दा बढी
देखावटी कस्मेटिक प्रोडक्ट जसरी
विकासे दशैं आउनु र
जानु खासै महत्व नै लाग्दैन
सुबिधा त बोकेर युग बद्लियो तर
खुशीलाई संगै डोर्याउनै सकेन
अब दशैं त आउँछ तर स्वाद
त्यही पुरानो बोकेर आउँदैन !!
२४ असोज २०७८, आइतवार १५:१३ बजे प्रकाशित












