सुदूरपश्चिममा ‘देउवाको गढ’ बाजुराबाट भत्काएको भन्दै संस्थापनइतर उत्साहित
कांग्रेस सभापति शेरबहादुर देउवाको प्रदेशमा संस्थापनइतरका पनि जिल्ला सभापति चयन भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित भएका छन्।सुदूरपश्चिमलाई कांग्रेसमा देउवा पक्षको गढका रुपमा अर्थ्याउने गरिएको थियो। बाजुरामा देउवा पक्षीयलाई हराउँदै पौडेल पक्षका रामसिंह रावल विजयी भएका छन्। बाजुरामा संस्थापन समूह बलियो रहेको दाबी गरिँदै आएको थियो।
देउवा पक्षलाई पराजित गरेपछि पौडेलले उत्साहित हुँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिवर्तन सम्भव छ, सुदुरपश्चिममा पनि परिवर्तन सम्भव छ । बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो।’
बाजुरामा संस्थापन पक्षको ‘शर्मनाक’ हार भएको संस्थापनइतरको बुझाइ छ। पदाधिकारीमा समेत देउवा पक्ष नराम्रोसँग पराजित भएको छ। पदाधिकारीमा सहसचिव एक जना विजयी भएर संस्थापन पक्षले चित्त बुझाएको छ। बाजुरामा देउवा समूहको गढ भत्काउन पौडेल पक्षका नेता बद्री पाण्डे एक महिना अघिदेखि जिल्लामा खटिएका थिए।
बाजुराको नतिजाको छुट्टै सन्देश रहने पाण्डेले नेपाल लाइभसँग बताए। उनले भने,‘बाजुरामा राम्रो नतिजा निस्कियो। परम्परागत गढ भत्किएको छ। सुदूरपश्चिमका अरु जिल्लालाई पनि यो सन्देश हो।’पौडेलले सभापति देउवाको डडेलधुरालाई समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
वडा र नगर अधिवेशन डडेधुरामा सकिएको छ। संस्थापनइतरको विरोध हुँदाहुँदै देउवा पक्ष अधिवेशन गरेको थियो। एक पक्षीय अधिवेशन गरेको विरोधमा पौडेल पक्षले डडेलधुरामा सभा समेत गरेको थियो।
उक्त सभा वृहत भएको उक्त पक्षले दाबी गरेको छ। देउवाको जिल्लामा भएको सभामा कार्यकर्ताको उपस्थितिले पौडेल पक्ष उत्साहित भएको छ। उक्त सभामा सम्वोधन गर्न नेताहरु अर्जुननरसिंह केसी,डा शेखर कोइरालालगायत पुगेका थिए।
२२ असोज २०७८, शुक्रवार १३:१३ बजे प्रकाशित






























