झोलुङ्गे पुलको टावरबाट ९ घण्टापछि आफैँ ओर्लिन युवती
महाकाली झोलुङ्गे पुल टावरको टुप्पोमा चढेर सबैलाई त्रसित पारेकी एक युवति ९ घण्टापछि आफैँ सकुशल ओर्लेकी छन् । आइतबार बिहान अन्दाजी ६ बजे तिर टावरको टुप्पोमा चढेकी ती युवति दिउँसो ३ बजेतिर आफै ओर्लेकी हुन् ।
दुई दिन अघि मात्रै उनी महेन्द्रनगरबाट चाँदनी माइत गएकी थिइन् । आज बिहान ५ बजे घरबाट निस्केकी उनी एकाएक पुल टावरको टुप्पोमा चढेकी थिइन् । टुप्पोमा पुगेर ब्यायम गर्ने गरेको थिइन् ।
सूचना पाएपछि उनको उद्धारका लागि प्रहरी टोली गएको थियो । तर प्रहरी उद्धारका लागि टावरमा चढे हाम फाल्ने चेतावनी दिएकी थिइन् । उनको धम्कीपछि टाढैबाट प्रहरीलाई उनलाई निगरानीमा राख्दै आएको थियो ।९ घण्टाको अथक प्रयासपछि उनका भाइ मनोज भण्डारीको आग्रहमा उनी आफै तल ओर्लेकी हुन । बेलुका ६ बजे आफै झरने उनले जनाएकी थिइन् ।
‘हामीलाई दिनभर तनाव दिइन् ती युवतिले’ दोधारा चाँदनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले भने ‘भाइको आग्रहमा धौ–धौ दिउँसो ३ बजे टावरबाट आफै सकुशल ओर्लिन ।’गिरीका अनुसार उनलाई निजका भाइ मनोज भण्डारीले महेन्द्रनगर तर्फ लगेका छन् ।
को हुन ती युवति ? बारम्बार किन चढ्छीन टावर ?
३० वर्षीय ती युवतिको नाम सुनिता भण्डारी पुजारा हो । भीमदत्त नगरपालिका–६ ऐठपुरमा बस्छिन् उनी । उनको माइत दोधारा चाँदनी नगरपालिका –५ कुमैयाखेडा हो । उनको ९ वर्षको एक छोरा छ ।रोजगारीको सिलसिलामा उनका पति संयुक्त अरब इमिरेट्स(युएई) मा छन् ।
करिब ६ वर्ष दोधाराको हेल्थपोष्टमा कस्मेटिक पसल सञ्चालन गरेर बसेकी सुनिता श्रीमान् विदेश गएपछि ऐठपुर बस्न थालेकी हुन । बेलाबखत चाँदनी माइत आइरहन्छीन उनी ।केही दिन यता उनी मानसिक तनावमा छिन् ।
‘कहिले काही देउता लागे जस्तो गर्छिन्’ सुनिताका भाइ मनोजले भने ‘ के भएको हो बुझ्न सकिएको छैन ।’देउताकै कारण मानसिक अवस्था बिग्रेकाले नवरात्रीमा पुर्ख्यौली घर बैतडी लगेर कुल देउताको पूजा गर्ने योजना रहेको मनोजले बताए ।
उनले तीन पटक झोलुङ्गे पुलको टावरमा चढने बताउँदै आएकी छन् । यो दोस्रो पटक हो उनी टावर चढेको ।‘मलाई देवीले पिल्लरको टुप्पोमा तीन पटक चढ्नु भनिकी छन्’ सुनिताको भनाई उद्धत गर्दै भाइ मनोजले भने ‘ देवीदेवताको कारण हो की बिमारी हो बुझ्न सकिएको छैन् ।’
१७ असोज २०७८, आइतवार १७:१४ बजे प्रकाशित































