सवारी दुर्घटनामा घाइते युवाको मृत्यु
सवारी दुर्घटनामा घाइते पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशीको उपचारको क्रममा आज मृत्यु भएको छ। काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो १ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
जोशीले चलाइरहेको भे ७ प ४३४५ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से १ ज ६३४ नं को जिप गएको बुधबार दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ बेडौतीमा ठोक्किएको थियो।
दुर्घटनामा सिकिस्त भएका जोशीलाई सोही दिन विमान चार्टर गरी नेपालगञ्ज पठाइएकोमा त्यहाँ उपचार हुन नसक्दा शनिबार काठमाडौं पठाइएको थियो।
सोही दुर्घटनामा जोशीसँगै मोटरसाइकलमा सवार ७३ वर्षीय अन्तराम पन्त र जिपचालक पाटन १ का ज्ञानेन्द्र भट्टराई घाइते भएका थिए। उनीहरू दुवै जना उपचार पछि निको भइसकेका छन्। जिपमा रहेका जिपका साहू ३४ वर्षीय प्रदीपसिंह सिनाललाई भने कुनै चोटपटक लागेको थिएन।
जोशीको मृत्यु भएपश्चात जिपचालक भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साँघुरो सडकमा तीव्र गतिमा सवारी हाँक्दा दुर्घटना भएको हो।
३ असोज २०७८, आइतवार १९:२३ बजे प्रकाशित































