सुदूरपश्चिममा एक वर्षमा ९१ वटा बलात्कारका घटना
बलात्कार प्रयास र यौन दुर्व्यवहारका घटना पनि उल्लेख्य
सुदूरपश्चिम प्रदेशमा महिला अधिकार हनन्का घटनामा उल्लेख्य बृद्धि भएको पाइएको छ । सुदूरपश्चिममा एक वर्षको अवधिमा ९१ जना महिला बलात्कारका शिकार भएको अनौपचारिक शिक्षा सेवा केन्द्र (इन्सेक)को तथ्याङ्क छ ।
प्रदेशको मानवअधिकारको अवस्था विश्लेषण प्रतिवेदन अनुसार सन २०२० जुलाईदेखि सन २०२१ जुनसम्म ९१ वटा बलात्कारका घटना भएका छन् । बलात्कारका सबै घटना गैह्रराज्य पक्षबाट भएका छन् ।
इन्सेकको मानव अधिकारको अवस्था विश्लेषण अनुसार सन २०२० जुलाईदेखि डिसेम्बरसम्म ६ महिनाको अवधिमा ५२ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये बलात्कारका २९ घटना बालिकामाथि भएका छन् । नौं जनामाथि बलात्कारको प्रयास र आठ जनामाथि यौन दुव्र्यवहार भएको छ । यौन दुव्र्यवहारका आठ घटनामध्ये सातवटा घटनाको शिकार बालिकाहरु भएको इन्सेकले जनाएको छ ।
त्यसैगरी यस वर्ष २०२१ को जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा ३९ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये १५ जना बालिका बलात्कारको शिकार भएका छन् । १८ जनामाथि यौन दुव्र्यवहार भएको छ । जसमा १२ जना बालिका पर्छन् । त्यस्तै दुई जना महिलामाथि बलात्कारको प्रयास भएको छ ।
इन्सेकका प्रदेश संयोजक खड्कराज जोशीले महिलामाथि हुने ज्यादती र हनन्का घटना व्यापक बन्दै गइरहेको बताए । उनका अनुसार सन २०२० जुलाईदेखि डिसेम्बरसम्म ६ महिनाको अवधिमा राज्यपक्षबाट दुई जना महिला र गैह्रराज्य पक्षबाट दुई सय ३७ जना महिला पीडित बनेका छन् । दुई जना महिला राज्यपक्षबाट गिरफ्तार भए भने एक जनामाथि कुटपिट भएको छ । प्रहरी हिरासतमा दुई र जिल्ला कारागारमा दुई जना गरि चार जनाको मृत्यु भएको छ ।
यस्तै गैह्रराज्यपक्षबाट एक सय ८० जना महिलाको अधिकार हनन् भएको छ । बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारबाहेक घरेलु हिंसाबाट एक सय ३४ जना पीडित बनेका छन् । ११ जना महिलाको हत्या गरिएको छ । दुई जना बेचबिखनमा परेका छन् भने ६ जनालाई बेचबिखन गर्ने प्रयास भएको छ भने पाँच जनाको बहुबिवाह भएको छ । यो अवधिमा बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारसहित ४२ जना बालबालिका पीडित बनेको पाइयो ।
यसैगरी सन २०२१ जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा गैह्रराज्य पक्षबाट दुई सय ६५ जना महिला पीडित बनेका छन् । यो अवधिमा बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहार अतिरिक्त चार जना महिलाको हत्या, एक सय ८० जना महिलामाथि घरेलु हिंसा, १० वटा बहुविवाह, चार जना महिला बेचबिखन र दुई जना महिलामाथि कुटपिट भएको तथ्याङ्क छ ।
यस्तै, यो अवधिमा बालअधिकार हनन्का घटनामा पनि कमी आउन सकेन । यो अवधिमा बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका अतिरिक्त गैह्रराज्य पक्षबाट ३३ जना बालबालिका पीडित बनेका छन् ।
इन्सेकले विगतको तुलनामा यस अवधिमा नागरिक र राजनीतिक अधिकारका क्षेत्रमा केही सुनधार भएको पाइएपनि आर्थिक सामाजिक र सांस्कृति अधिकारको अवस्थामा खासै प्रगति नभएको जनाएको छ ।
इन्सेकको अनुसार पछिल्लो ६ महिनाको अवधिमा प्रदेशमा राज्य पक्षबाट १४ जना पुरुष र गैह्रराज्यपक्षबाट दुई सय ६५ जना गरि जम्मा दुई सय ८० वटा मानव अधिकार हनन् र ज्यादतीका घटना भएका छन् ।
२६ भदौ २०७८, शनिवार १८:१० बजे प्रकाशित












