नेपाली उत्पादन संरक्षण गर्न भन्सार दर बढाउनुपर्छ : आयोग अध्यक्ष दंगाल
राष्ट्रिय किसान आयोगका अध्यक्ष डा। प्रेमप्रसाद दंगालले स्थानीय उत्पादनको बजार बढाउन भन्सार महशुलको दर बढाउनुपर्ने बताएका छन् । आयोगको कामका लागि धनगढी पुगेका अध्यक्ष दाहालले शनिबार पत्रकारसंग भेटघाट गर्दै यस्तो धारणा राखेका हुन् ।
यहाँ उत्पादन भएको बस्तुले बजार नपाएको तर, भारतबाट आयात हुने बस्तुहरूले बजार ढाकेको उनले बताए । यो समस्या कमगर्न भन्सार दरमा शुल्क बृद्धि गरे भारतमा आयात वस्तुहरु घट्ने र नेपाली उत्पादन बढ्ने उनले बताए । यदि भन्सार शुल्क दर नबढाए कृषि सुधार शुल्क बढाउनुपर्ने उनको भनाई छ ।
उनले भारतबाट आइरहेका बस्तुहरूको नियमनसमेत नभइरहेकाले नेपाली किसान मारमा परेको बताए । उनले समस्याहरलाई समेटेर सुधारका लागि सरकार सुझाव दिने बताए ।
‘हामी अहिले कहाँ के कस्ता समस्याहरु छ र त्यसको सुधारका लागि के गर्नुपर्छ भनेर विभिन्न प्रदेशमा गइरहेका छौं,’ उनले भने, ‘समस्याहरु उजागर गर्दै सुधार गर्र्नुपर्ने विषयहरु सुझावका रुपमा समेटेर सरकारलाई सिफारिस गर्नेछौं ।’ उनले यहाँको उत्पादनको बजार बढाउनका लागि भन्सार शुल्क दर बढाउनुपर्ने विषयमा पनि सरकारलाई सुझाव दिने बताए ।
किसानका लागि हुँदै आएको मल अभाव, अनुदान, बैंक ऋण, बिमालगायतका वियषमा देखिएको समस्याहरु पनि समेटिएको अध्यक्ष दंगालले बताए । किसान कल सेन्टर निर्माण गरेर किसानको समस्या सम्बोधन गर्ने तयारीसमेत भइसकेको अध्यक्ष दंगालले बताए ।
किसान आयोगका सदस्य जयन्ती पौडेलले सुदूरपश्चिम प्रदेशमा मौसम अनुसारको खेती गर्न किसानलाई प्रोत्साहित गर्ने र ती खेती प्रवर्द्धनको लागि सरकारलाई आग्रह गर्ने बताइन् ।
आयोगले किसानहरूका सवालमा सरकारले सञ्चालन गरेका विभिन्न आयोजना, तिनको प्रभावकारिता र आयोगले गर्ने आगामी कामको योजनाबारे समेत छलफल गरेको थियो । छलफल सहभागिहरुले सरकारबाट नीतिगत त्रुटि हुँदा किसानहरूले थुप्रै समस्या भोग्नु परेको बताएका थिए ।
२६ भदौ २०७८, शनिवार १७:५२ बजे प्रकाशित













