१० बुँदे सहमति कार्यान्वयनबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।मंगलबार बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।यो बैठकमा यसअगाडि कार्यदलले सहमति गरेका १० बुँदेलाई कार्यान्वयनमा ल्याउनेबारे छलफल हुनेछ।
सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटीका सदस्यहरूबीच छलफल भएको थियो। उक्त छलफलपछि आज बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो।
नेता नेपाल भने नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्दैछन्। बुधबार उक्त पार्टी निर्वाचन आयोगमा सनाखतका लागि जाने तयारीमा छ।नयाँ पार्टी गठनका लागि नेता नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरू भने एमाले एकताको पक्षमा आफूहरू रहेको भन्दै आज स्थायी कमिटी बैठकमा जाने बताइरहेका छन्।
८ भदौ २०७८, मंगलवार ०९:४७ बजे प्रकाशित












