punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्मला हत्याका तीन वर्ष : देउवामाथि छ न्याय पाउने झिनो आशा

Chaupati
safha napa

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको आज तीन वर्ष पूरा भएको छ । आजकै दिन घरबाट बेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको उखुबारीमा शव भेटियो । पोष्टमार्टम रिपोर्टबाट उनको बलात्कार गरेर हत्या गरिएको रिपोर्ट आयो । घटना भएको तीन वर्ष पुगेपनि उनको हत्यारा अहिलेसम्म पत्ता लाग्ने सकेको छैन । न्यायका लागि अहिलेसम्म राज्य गम्भीर नबनेको र उल्टै अपराधी संरक्षण गरेको आराप लाग्दै आएको छ ।

हत्या भएको लामो समय वितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकेपछि उनकी आमा दुर्गादेवी पन्तले अब न्याय पाउने आशा मारिसकेकी छन् । प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउला र न्याय पाइएला भन्ने आशा छ्रैन उनलाई । अब अन्तिम झिनो आशा छ त केवल प्रधानमन्त्री शेरबहादुर देउवामाथि । पन्त परिवारको पहाड घर पनि डडेल्धुरानै हो ।

घटना भएको सात महिनापछि प्रधानमन्त्री देउवा निर्मलाकै घर पुगेका थिए । जतिबेला उनी प्रतिपक्षमा थिए । निर्मलाको न्यायका लागि दवाव दिने ठाउँमा थिए । न्यायका लागि पार्टीपंक्तिलाई सक्रिय पनि पारेका थिए । निर्मलाको घरमै आएर देउवाले त्यतिबेला दुर्गादेवीलाई भनेका थिए, ‘निर्मलाको हत्यारालाई पत्ता लगाउन लाग्नेछौं, त्यसका लागि सरकारलाई दवाव दिन्छौं, दिइरहेका छौं ।’ काँग्रेसले निर्मलाको न्यायका लागि प्रतिपक्षमा रहेर सरकारलाई दिनुपर्ने दवाव दिएकै हो । घटनामा सरकारले गरेका कमीकमजोरी पनि औंल्याउँदै आएको थियो । तर सरकारले हत्यारा पत्ता लगाउन सकेन ।

अहिले भने देउवा आफै न्याय दिने ठाउँमा छन् । देशको प्रधानमन्त्री बनेका छन् । घरमै आएर अपराधी पत्ता लगाउन सरकारलाई दवाव दिने आश्वासन दिएका जिल्लाबासीसमेत रहेका देउवा प्रधानमन्त्री बनेको सुनेपछि दुर्गादेवीलाई न्याय पाइने झिनो आशा पलाएको छ । हुनत दुर्गादेवीलाई घटना भएदेखि अहिलेसम्म हत्यारा पत्ता लगाउने र निर्मलालाई न्याय दिने र दिलाउन पहल गर्ने भन्ने आश्वासन थुप्रैले दिएका छन् । त्यो क्रम अहिलेसम्म पनि जारी छ । यसरी आश्वासन दिनेमध्ये एक प्रधानमन्त्री देउवा पनि एक थिए ।

अहिले उनै देउवा प्रधानमन्त्री बनेका छन् । उनले चाह्यो भने अपराधी पत्ता लगाएर निर्मलाई न्याय दिलाउन सक्छन् भन्ने आशा छ दुर्गादेवीलाई । देउवा प्रधामन्त्री भएपछि यसबारे केही बोलेका भने छैनन् । सत्ताधारी दल नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले यही सरकारले निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै लेखेका छन्, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ ।’

निर्मलालाई न्यायसँगै अब कसैले पनि यस्तो नियति भोग्न नपरोस् भन्न विशेष तदारुकता बढाउनुपर्ने प्रवक्ता शर्माको सुझाव छ । ‘बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्वभन्दा माथि सामाजिक रूपान्तरणको साझा अठोट र अभियान जरुरी छ,’ उनले अगाडि लेखेका छन्, ‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, बिशेष तदारुकता बढाऔं ।’

के भन्छन प्रहरी ?
घटना भएको तीन वर्ष पुग्दासम्म अपराधी पत्ता लगाउन नसकेको प्रहरीले भने हरेक पटक निर्मलाको हत्यारा पत्ता लगाई छोड्छौं भन्न छोडेको छैन । जिल्लामा हरेक प्रहरी प्रमुख आउने वित्तिकै निर्मलाको हत्यारा पत्ता लगाउने आश्वास दिँदै आएका छन् । हरेक प्रमुख जिल्ला अधिकारी परिवर्तन हुँदा पनि यही कुरा उठ्न गर्छ ।

निर्मलाको हत्या भएयता कञ्चनपुरमा पाँच जना प्रहरी प्रमुख र सात जना प्रमुख जिल्ला अधिकारी परिवर्तन भइसकेका छन् । सबैलाई निर्मला हत्या प्रकरणबारे बोल्दै आएका छन् र हत्यारा पत्ता लगाउने आश्वासन पनि दिँदै आएका छन् । तर अहिलेसम्म अपराधी को हो भन्ने सुइकोसमेत पाउन सकेको छैन प्रहरीले ।

कञ्चनपुर प्रहरीकै अनुसार घटना भएदेखिनै प्रहरीको छुट्टै टोली यो घटनाको अनुसन्धानमा सक्रिय छ । कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपालेले निर्मला हत्याबारे अनुसन्धानका लागि विभिन्न तीन टोली सक्रिय भएर लागिरहेको बताए ।

उनकाअनुसार जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धान ब्युरोको टोली खटिइरहेको छ । उनले घटनाबारे विभिन्न कोणबाट अध्ययन अनुसन्धान भइरहेको बताए । अहिलेनै यतिनै प्रगति भइसक्यो भनेर भन्न नमिल्ने उनको भनाई छ । उनका अनुसार घटनाबारे अनुसन्धानका लागि हालसम्म प्रहरीले एक हजार भन्दा बढीलाई सोधपुछ गरिसकेको छ ।

‘अनुसन्धानका सबै विषय भन्न पनि सकिँदैन,’ उनले भने, ‘अपराधी सार्वजनिक गरेपछि मात्रै त्यसलाई शतप्रतिशत प्रगति भन्न सकिन्छ । जे होस् अनुसन्धानको दायरा साँघुरो हुँदै गइरहेको छ ।’ हत्यारा ढिलोचाँडो जसरी भएपनि पत्ता लाग्ने र निर्मलाले न्याय पाउने उनको दाबी छ ।

के हो घटना ?
कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामस्थित १३ वर्षीया बालिका निर्मला पन्त विद्यालयको गृहकार्य गर्ने भन्दै साउन १० गते दिउँसो घरबाट निस्केर साथीको घर गएकी थिइन् । तर, उनी सोही दिनदेखिनै बेपत्ता भइन् । राति प्रहरीलाई पनि खबर भयो । तर प्रहरीले कुनै वास्ता गरेर भोलिपल्ट विहानदेखि मात्रै प्रहरीले खोजी सुरु गर्यो र घरभन्दा एक किलोमिटरको दुरीमा रहेको उखुबारीमा बलात्कार गरेर हत्या गरिएको अवस्थामा फेला परिन् । लगत्तै प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढायो ।

केन्द्रिय अनुसन्धान ब्युरोको टोली पनि सक्रिय भएर लाग्यो । प्रहरी नायव उपरीक्षक अंगुर जिसीको नेतृत्वको ब्युरोको टोलीले सुस्त मनस्थितिको स्थानीय दिलीपसिंह बिष्टलाई अभियुक्र भन्दै सार्वजनिक गर्यो ।

तर स्थानीयले बिष्टलाई अपराधी हो भन्नेमा आशंका गर्यो र आन्दोलन चर्कायो । स्थानीयको आशंकाअनुसार निर्मलाको भेजिनल स्वावमा भेटिएको डीएनएससंग नमिलेपछि बिष्ट छुटे । अपराधी पत्ता लगाउनुपर्ने भन्दै आन्दोलन झन चर्कियो । प्रहरीमाथि थप आशंका पैदा भए । प्रहरीमाथि नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउने खोजेको आरोप लाग्यो । आन्दोलनले उग्र रुप लियो । प्रहरीको गोली लागेर एक युवकको ज्यान गयो भने १२ जना भन्दा बढी घाइते भए ।

घटना राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बन्यो । विभिन्न अध्ययन अनुसन्धान टोलीहरु परिचालन भए । केही प्रतिवेदन सार्वजनिक भए र कैही भएका छैनन् । अपराध अनुसन्धानमा लापरबाही भएको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिलीप बिष्टसहित प्रहरी विभागीय कारबाहीबाट बर्खास्त भए । अहिले भने उनीहरु सबैलाई अदालतबाट सफाई पाइसकेका छन् । तर हालसम्म निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन ।


१० साउन २०७८, आइतवार १५:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु