डोटीमा उच्च गतिको इन्टरनेट एफटीटीएच सेवा वितरण गरिँदै
डोटी : पछिल्लो समय जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका–२ बुडर बजार तथा यहाँ रहेका सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको ताररहित इनटरनेट सेवा एफटिटिएच सेवा वितरण गर्न थालेको छ।
नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गर्न थालेको छ। उक्त टेलिफोन सेवाबाट फोन, इन्टरनेट तथा ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ। बुडर बजारलगायत अन्य अन्य निजी घर तथा कार्यालयमा उक्त सेवा वितरणका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम राजपुरले जनाएको छ।
जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, दिपायल तथा सिलगढीमा उक्त सेवा वितरण गरिएपछि अहिले यहाँका अन्य बजारमा सेवा वितरण गर्ने कार्य सुरु गरिएको हो। यसअघि यो सेवा काठमाडौँमा मात्रै सुरु गएिको थियो।
नेपाल टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपानेले केही महीना पहिले पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा पहिलो पटक उक्त एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरेसँगै अहिले आएर उक्त सेवा जोरायल–२ बुडर क्षेत्रमा विस्तार गर्न थालिएको नेपाल टेलिकम राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए।
२६ असार २०७८, शनिवार ११:५६ बजे प्रकाशित































