कांग्रेसको १४ औँ महाधिवेशन: बझाङमा चुनावी चहलपहल
बझाङ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ। जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरेपनि भित्रभित्रै कसरत भने सुरुआत भइसकेको जनाइएको छ। कसरी समूहमा पर्ने, केन्द्रीय नेताको राय र सल्लाहअनुसार अगाडि बढ्ने भन्दै कसरत सुरु हुन थालेको छ। आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा १० गाउँपालिका र २ नगरपालिकाका ९४ वडाका क्रियाशील सदस्यले सहभागिता जनाउन पाउने पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंहले बताए।
सभापतिका लागि जिल्लामा सात स्थानीय तहबाट १० नेता आकाङ्क्षी देखिएका छन्। यसमा जयपृथ्वी नगरपालिकाबाट वर्तमान पार्टी सभापति हर्कजङ्गबहादुर सिंह, क्षेत्रीय सभापति भरतराज जोशी, पूर्व जिविस सभापति, जयपृथ्वी नगर प्रमुखमा पराजित चेतराज बजालको जिल्ला सभापतिका लागि चर्चा छ।
यस्तै मष्टा गाउँपालिकाबाट पार्टी उपसभापति ज्ञानबहादुर बोहरा, सुर्मा गाउँपालिकाबाट खड्कबहादुर बोहोरा, पार्टी प्रवक्ता पुष्कल बोहोरा, केदारस्युँ गाउँपालिकाबाट रमेश भण्डारी, थलारा गाउँपालिकाबाट देवराज शर्मा, खप्तड छान्ना गाउँपालिकाबाट जगतप्रसाद जोशी, बुङ्गल नगरपालिकाबाट प्रताप गुरुधामीको जिल्ला सभापतिका लागि चर्चा चलेको छ।
पाँचवटा स्थानीय तह वित्थडचिर, तलकोट, दुर्गाथली, छविसपाथिभेरा र साइपाल गाउँपालिकाबाट भने सभापतिमा को उठ्ने भन्ने खुलेको छैन। जिल्लामा यसपटक ३ हजार ८ सयको हाराहारीमा क्रियाशील सदस्य थपिएका छन्। यसको नामावली केन्द्रमा पठाई छानबिन भइरहेको बताइएको छ। यो सहित क्रियाशील सदस्यको सङ्ख्या लगभग सात हजार ७०० पुगेको प्रवक्ता बोहराले बताए।
२५ असार २०७८, शुक्रवार १०:४७ बजे प्रकाशित































