चीनबाट आइपुग्यो ‘भेरोसेल’ खोपको आठ लाख डोज
काठमाडौँ । चीनबाट खरीद गरेको कोभिड-१९ विरुद्धको खोप ‘भेरोसेल’को आठ लाख डोज काठमाडौं आइपुगेको छ । खरिद गरेको ४० लाख डोज खोपमध्ये पहिलो खेपमा आठ लाख डोज आज बिहान काठमाडौं आइपुगेको हो ।
त्यसका लागि नेपाल वायुसेवा निगमको विमान बिहीवार नेपालबाट उडेको थियो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिए । नेपालले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीद गरेको छ ।
अब दोस्रो खेपका लागि ३१ असारमा निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ । यससँगै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज ७ साउनमा चीन जाने भएको छ । यसअघि चीनले अनुदानमा भेरोसेल खोप दिएको थियो । त्यो अहिले लगाइँदैछ ।
२५ असार २०७८, शुक्रवार १२:०५ बजे प्रकाशित































