फेरि बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ३ हजार संक्रमित थपिए
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसंगै फेरि संक्रमण दर बढेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार १ हजार ७१८ जनामा कोरोना पुष्टि भएकोमा आज बढेर २ हजार ९७९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८३५ जनाको पीसीआर परीक्षणबाट २ हजार ७७ र ४ हजार ६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०२ जना गरी जम्मा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १५ जनाले ज्यान गुमाएका थिए । मृतकको संख्या पनि आज बढेको छ ।
सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ३३३ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
२४ असार २०७८, बिहीवार ०९:३७ बजे प्रकाशित































