मोबाइल नम्बरसमेत राखेर बिरामीको अवस्था बुझिरहेका छौं : अध्यक्ष गड्सिला

कोरोना महामारीमा स्थानीय सरकार : अंक ७

यति बेला कोरोना महामारीसंग विश्व लडिरहेको छ । कुनै देश बढी प्रभावित भएका छन् त कुनै कम । कोरोनाको पहिलो लहरमा खासै प्रभावित नभएको नेपाल अहिले दोस्रो लहरमा निकै प्रभावित हुन पुगेको छ । दैनिक संक्रमण र मृत्युदर बढिरहेको छ । देशमा सुदूरपश्चिम प्रदेश अझ बढी प्रभावित छ । कोरोनासंग लड्न यहाँका स्थानीय तहहरु आफ्नो क्षमताले भ्याएसम्म लागिरहेका छन् । यही विषयमा रहेर ‘कोरोना महामारीमा स्थानीय सरकार’ अन्तर्गत सातौं अंकमा हामीले डोटीको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलासंग कुराकानी गरेका छौं । प्रस्तुत छ, उहाँसंग गरिएको कुराकानीको सम्पादित अंश :

 

हाल गाउँपालिकामा कोरोना संक्रमितको संख्या कति छ र उनीहरुको अवस्था के छ ?
आजको मितिसम्म हाम्रो पालिकामा २९ जना संक्रमित छन् । उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

अस्पताल स्वास्थ्य चौकीहरुको अवस्था के कति छन् र स्वास्थ्यकर्मीको उपलब्धता कस्तो छ ?
गाउँपालिकामा अहिले १२ वटा स्वास्थ्य संस्थाहरु छन् । भिडियो एक्सरेलगायतका सेवा हामीकहाँ उपलब्ध छ । आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको छ । सातवटा स्वास्थ्य चौकी, पाँचवटा स्वास्थ्य इकाई र एउटा हस्पिटल पनि छन् । हामीसँग जम्मा ७१ जना स्वास्थ्यकर्मी हुनुहुन्छ । डाक्टर, स्टाफ नर्स, एचए, अहेव सफाईकर्मी सबै लगाएर ७१ जना छन् । डाक्टर भने एक जना मात्र हुनुहुन्छ ।

 

गाउँपालिकाले भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिहरुलाई क्वारेनटाइनको व्यवस्था गरेको छ ?
नेपाल सरकारको कार्यबिधि अनुसार नै होम क्वारेन्टाइनमै राख्ने व्यवस्था मिलाएका छौं । भारत वा तेस्रो मुलुक अथवा देश भित्रैबाट आउनेलाई होम क्वारेन्टाइनमै रहन भनिरहेका छौं । संक्रमितहरुका सवालमा भने अवस्था हेरेर सामान्य भए घरमै स्वास्थ्यकर्मी पठाएर उपचार गर्ने व्यवस्था मिलाएका छौं ।

 

घरमा आइसोलेसनमा बसेकाका कोराना संक्रमितहरुलाई आवश्यक स्वास्थ्य सेवा कसरी पुर्याइरहनु भएको छ ?
घरमा आइसोलेसनमा बसेकाका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्क नम्बर उपलब्ध गराएका छौं । बिरामीको नम्बर पनि हामीसंग हुन्छ । हामी आफैले पनि फोन गरेर उहाँहरुको अवस्था बुभ्mने गरेका छौं । यस्तो बेला स्वास्थ्यकर्मीहरु २४ घण्टा सेवा दिन तयार हुनुपर्छ ।

 

पालिकामा एम्बुलेन्स, अक्सिजनलगायतका अत्यावश्यक वस्तुहरुको उपलब्धता कस्तो छ ? गम्भिर खालका बिरामीलाई थप उपचारका लागि अन्यन्त्र रिफर गर्नु परे के गर्नु हुन्छ ?
हामीसंग एउटा एम्बुलेन्स छँदै थियो । लकडानमा सार्वजनिक यातायात नचल्ने हुँदा मैले चड्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेका छौं । यदि यतिले पनि प्रर्याप्त भएन भने गाडी भाडामा लिने निर्णय गरेका छौं । हामीसंग चार÷पाँचवटा अक्सिजन सिलिण्डर छन् । गम्भीर अवस्था भए सदरमुकाममा रहेको अस्पताल पुर्याउने व्यवस्था गर्छौं । हाम्रो गाउँदेखि सदरमुकाम पुग्न चार÷पाँच घण्टा लाग्छ । हामीले चार÷पाँचवटा अक्सिजन कन्सन्डे«टर खरिद गरेका छौं । डेलिभरी केही दिनमै हुँदैछ । कोभिडमा प्रयोग हुने औषधिको व्यवस्था गरेका छौं । एन्टिजेन किट पनि खरिद गरेका छौं ।

 

महामारीको समयमा जनतामा गलत सूचनाले पनि त्रसित बनाउँछ । सही सूचना आम जनतामा पुगोस् भन्नका लागि के गरेको छ पालिकाले ?
समय समयमा प्रेस विज्ञप्ति मार्फत जनतालाई सूचित गरेका छौं । हामीले पालिकाको वेवसाइटमा पनि सूचना प्रकाशित गरेका छौं । जनतालाई हल्लामा विस्वास नगर्न आग्रह गरेका छौं । स्वास्थ्य शाखाले आवश्यक सूचना प्रकाशित गरिरहेको हुन्छ । रेडियो र टीभीमार्फत पनि सचेतना जगाउने काम गरेका छौं । वडा अध्यक्ष, स्वास्थ्यकर्मी, स्वयमसेवीका मार्फत पनि प्रत्यक्ष सूचना पुर्याइरहेका हुन्छौं । यो विषम परिस्थितिमा जनतालाई सही सूचना पुगोस् भन्ने हेतुले राजनीतिक दल, नागरिक समाज, व्यापारी, सुरक्षाकर्मी सबै खटिएका छन् ।

 

निषेधाज्ञा गरिएको लामो समय भएको हुँदा दैनिक ज्यालादारी, विपन्न र कमजोर आर्थिक अवस्था भएका परिवारलाई असर पुगेको छ । प्रभावित समुदायलाई राहातको लागि के व्यवस्था गरिएको छ ?
यो वर्ष राहात वितरणका लागि खासै योजना बनाएका छैनौं । गास, बास, कपास, औषधी उपचार मौलिक अधिकार भित्र पर्दछन् । पालिका भित्र कसैलाई अफ्ठ्यारो परेमा उनीहरुका घर नजिकै भएका जनप्रतिनिधिहरु छन् । उनीहरुमार्फत राहात पुर्याउने व्यवस्था गर्छाैं । हामी कसैलाई पनि भोकै बस्न दिदैनौं । कुनै अरु समस्या भए पनि हामी त्यसको निराकरण गर्छाैं । यो समय जनतासंग जानु जनप्रतिनिधिको दायित्व हो । यो महामारी नियन्त्रणका लागि उहाँहरुको भूमिका अमूल्य छ । नागरिक समाज स्वास्थ्यकर्मी लगायत सबैले महत्वपूर्ण भुमिका खेल्नु भएको छ ।

 

कोरोना संक्रमण थप नफैलियोस भन्नका लागि के रणनीति अपनाइएको छ ?
पहिलो रणनीति भनेको निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गरि संक्रमणको चेन ब्रेक गर्ने हो । कोरोना संक्रमण नियन्त्रणमा आम नागरिकको पनि त्यतिकै ठूलो भुमिका रहन्छ । मास्क लगाउन पर्यो, भिडभाड नगर्ने जथाभावी नहिड्ने । यसैलाई जीवन शैली बनाउन पर्यो । नागरिकको कर्तव्य बहन गर्नु पर्यो ।

 

अहिले कोरोना नियन्त्रणमा भ्याक्सिन प्रभावकारी देखिएको छ । तपाईको पालिकामा कतिले कोरोनाको भ्याक्सिन लगाएका छन् ?
पालिकामा स्वास्थ्यकर्मी र जनप्रतिनिधि र कर्मचारी सबैले भ्याक्सिन लगाएका छन् । पालिकामा करिव दुई सय जनाले भ्याक्सिन लगाएका छन् ।

 

पुरै पालिकाबासीलाई भ्याक्सिन लगाउनेबारे के सोच्नु भएको छ ? कहिले लगाउन पाउछन् पालिका बासीले भ्याक्सिन ?
भ्याक्सिन पाए त अहिले पनि हामी एक महिना भित्रै सबै पालिकाबासीलाई लगाउँछौं । तर यो हाम्रो अधिकारको कुरा होइन । यो संघीय र प्रदेश सरकारको कुरा हो ।

 

कोरोना भाइरस पहिलो दोस्रो हुँदै तेस्रो लहरसम्म पनि नेपालमा भित्रिसकेको छ । यो अवस्थामा कोरोना रोकथाम र नियन्त्रणसंगै अन्य आवश्यक काम कार्वाही गर्न पालिकाको आगामी रणनीति के छ ?
रणनीति भनेको निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन, संक्रमण थप फैलन नदिन कडाईका साथ नियम पालना, उचित उपचार प्रमुख हो । आगामी दिनमा महामारी हुन दिन्नौं भन्नका लागि हस्पिटल औषधी र अन्य सामाग्रीलगायत जनशक्तिको गर्ने कार्य हाम्रो रणनीति भित्र पर्दछ । अन्य काम कारबाहीलाई पनि आवश्यक मापदण्ड अपनाएर अगाडि बढाइरहेकै छौं ।

 

अहिले गाउँपालिकालाई मुख्य चुनौती के छ ?
बर्षायाम आइरहेको छ । सडक ठिक छैन, यातायातको समस्या छ । हामीलाई अक्सिजनको आवश्यकता छ । औषधि पनि पर्याप्त छैन तर हामी हर चुनौतीसंग सामना गर्ने छौं । हामीसंग योजना छ । कार्यान्वयन गर्ने क्षमता पनि छ ।

 

अन्तमा गाउँपालिकाबासीलाई के भन्न चाहानु हुन्छ ?
महामारीबाट बच्न सरकारले जारी गरेको निषेधाज्ञालाई कडाइका साथ पालना गरौं । हामीले आत्तिनु हँुदैन । तर संयमित र सचेत भएर सबैले मनोबल उच्च बनाई सहकार्य गरौं । हामी यो युद्धलाई अवश्य जित्ने छौं ।

 

महत्वपूर्ण समयका लागि तपाईलाई धन्यबाद ।
मेरा कुरा राख्ने अवसर दिनुभयो त्यसका लागि तपाईलगायत मर्निङ बेल मिडिया हाउसलाई पनि धन्यबाद ।


११ जेठ २०७८, मंगलवार ०९:४१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु