कोरोना महामारी नियन्त्रण गर्न स्थानीय तह पनि सशक्त बन्नुपर्छ : अध्यक्ष ओझा

कोभिड महामारीमा स्थानीय सरकार (अंक–१)

कोभिड–१९ महामारी जस्तो जटिल संक्रामक महामारी सायद विश्वले यसभन्दा पहिले सामना गरेन । यसले जनस्वास्थ्य मात्र नभई मानवीय विकासको धरातललाई चुनौती दिएको छ । जीवनका बहुआयामिक पक्षहरुलाई प्रभावित पारेको छ, जीर्ण बनाएको छ । को कहाँ चुक्यो त्यसको लेखाजोखा हुँदै गर्ला तर अहिले समय भएको छ भत्किएको घरलाई अविलम्ब पुनर्निर्माण गर्ने । पुनर्निर्माणको प्रारम्भ कोभिडबाट आक्रान्तहरुको उचित उपचार, रोग फैलनबाट रोक्न प्रभावकारी कदम, कोभिड महामारीसंगै विश्वका र आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने दीर्घकालीन रणनीतिबाट हुनुपर्छ।

अहिले समाजमा यस विश्वव्यापी महामारीले नैराश्यता र बैराग्यता ल्याएको छ । यसर्थ हाम्रा सबै तहका सरकारको कर्तव्य बन्छ ।समाजलाइ स्वस्थ राख्न, नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता बन्नपर्छ । महामारीको पहिलो लहर व्यवस्थापनमा स्थानीय सरकारले खेलेको भुमिका सह्रानीय रहयो । तर यसपटकको महामारी सामना गर्न प्रयाप्त तयारी भएको पाइएन, फलस्वरूप जनतामा एक प्रकारको त्रास र आक्रोश छ । बुझ्नुपर्ने कुरा के हो भने मानव जाति त्यो जाति हो, जस्ले गल्तीबाट सिक्ने गुण राख्छ र नयाँ निर्माण गर्न सक्छ । यहि मानवीय पक्षलाई ध्यानमा राख्दै हामीले व्यर्थै समय खेर फाल्नु हुन्न । कसैले केही गरिदेला भनेर मुख हेर्नू भन्दा आफूसंग भएको साधन स्रोतको भरपुर प्रयोग र नयाँ प्रबिधि, संसाधन र सोचले सुसज्जित बन्न पहल गर्नुपर्छ ।जनस्वास्थ्य सबैको सर्वोपरि, सर्वोच्च प्राथमिकता हुनुपर्छ ।

स्थानीय सरकार जनतासंग सब भन्दा समीप रहेको निकाय हो। शुसासनको अनुभूति दिन सक्ने पहिलो सरकार हो । स्थानीय तह सामर्थ्यवान भए जनताले स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्दैन । झन यस्तो विषम महामारीको परिस्थितिमा स्थानिय तहको भूमिका झनै महत्वपूर्ण भएको छ ।

स्थानीय तहले आफ्ना जनतालाई उचित उपचारको प्रबन्ध गर्न सक्छने । गम्भीर बिरामीलाइ गर्नु परेमा आवश्यक चाँजो मिलाउन सक्छ्न्। गरिब र सिमान्तकृतका लागि निशेधाज्ञा भएसम्म खाद्यान्न र अन्य राहत सामाग्रीको व्यवस्था गर्न सक्छ्न् । यसका अलावा अब कोभिड विरुद्ध कसरी लड्ने भन्ने रणनीति अविलम्ब बनाउन सक्छ्न् । त्यसलाई लागू गर्न पहल गर्न सक्छ्न् । स्थानीय सरकारबाट जनस्वास्थ्य र जनहितका लागि कामको थालनी हुनुपर्छ भन्ने भावनाका साथ हामी आजैदेखि कोभिडसंग सामना गर्न सुदूरपश्च्मि प्रदेशका ८८ वटै पालिकामा के तयारी छ ? के रणनीति छ ? जनताको अवस्था के छ ? भन्ने बारेमा चर्चा गर्नेछौं । यस अनुरुप हामी पहिलो अंकमा डोटी जिल्लाको जोरायल गाउँपालिकाको बारेमा चर्चा गर्दैछौं ।

जोरायल गाउँपालिकाका प्रमुखसंग कुरा गर्न भन्दा पहिले जोरायल गाउपालिकाको संक्षिप्त पारिचय :

जोरायल गाउँपालिका डोटी जिल्लामा अवस्थित छ । दिपायल सिलगडी नगरपालिकाबाट ६० किलोमिटर दक्षिण पश्चिम दिशामा पर्छ । भौगोलिक हिसाबले सुन्दर र रमणीय उपत्यका मानिन्छ । जोरायल बासमती धान उत्पादन थलोका रुपमा पनि प्रसिद्ध छ । ४१९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जोरायल गाउपालिका ६ वटा वडामा विभाजित छ । करिब २१ हजार जनसख्या रहेको जोरायलका सबै वडामा सडक सञ्जाल पुगेको छ ।

प्रस्तुत छ, जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझासंग गरिएको कुराकानी :

तपाईंको पालिकामा आजका दिनसम्म कतिजना संक्रमित छ्न ?

हाम्रो रेकर्ड अनुसार दुई जना संक्रमित छन् ।

तपाईंको पालिकामा स्वास्थ्य केन्द्र, उपचार केन्द्र र प्राइभेट अस्पताल कति छन् ?

हाम्रोमा स्वास्थ्य चौकी १२ वटा छन् । जसमा एउटा बर्थिङ सेन्टर, सामुदायिक स्वास्थ्य इकाई केन्द्र, एउटा प्राथमिक स्वास्थ्य केन्द्र गरेर १२ वटा छन् । पालिकामा एउटा प्राइभेट अस्पताल पनि छ ।

क्वारेन्टाइनको व्यवस्था छ कि छैन ?

हामीसंग स्थायी क्वारेन्टाइन छैन । आवश्यक परे व्यवस्था गर्नुपर्छ ।

पालिकामा कतिजना डाक्टर र स्वास्थ्यकर्मी छन् ?
डाक्टर एमबीबीएस चिकित्सक एक जना पनि छैनन् । हेल्थ एसिस्टेन्ट, अहेव, अनमी, स्टाफ नर्स गरेर ५० जना स्वास्थ्यकर्मी छन् । चिकित्सकका लागि प्रदेश सरकार र नेपाल सरकारलाई अनुरोध गरेका छौं ।

अक्सिजन, औषधि र एम्बुलेन्सको व्यवस्था के छ ?

अक्सिजन प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र छ । पालिकामा एउटा एम्बुलेन्स छ ।

गम्भीर विरामीहरुलाइ अन्यत्र रिफर गर्नु परे के व्यवस्था गर्नु भएको छ ?

हामीसंग एउटै एम्बुलेन्स छ । जरुरत परेको बेला निजी गाडीको व्यवस्था गर्नुपर्छ ।

यस्तो महामारीमा त्रास नफैलियोस कसैबाट गैरजिम्मेवारी काम नहोस् भन्नका लागि सहि सूचना प्रवाह हुनुपर्छ । के गर्नु भएको छ ?

हिजो मात्र विपद व्यवस्थापन समितिको बैठक बसेको छ । कोभिड महामारी व्यवस्थापनका बारेमा हामीले छलफल गर्यौं । कोभिड बिरुद्धको स्वास्थ्य मापदण्ड पालनका लागि मिडियासंग र संघ–सस्थासंग सहकार्य गरिरहेका छौं ।

घरमा आइसोलेशनमा बसेका बिरामीले डाक्टरसंग परामर्श गर्न चाहेमा कसरी गर्ने ?

हाम्रो स्थानीय स्वास्थ्यकर्मी र स्वयमसेवीका हुनुहुन्छ र स्थानीय जनप्रतिनिधि मार्फत उहाँहरुले यसको व्यवस्था गर्नुहुन्छ ।

कमजोर आर्थिक अवस्था भएकाहरुको लागि खाद्यान्न र राहतको लागि के व्यवस्था गर्नु भएको छ ?

जोरायलमा लकडाउन छैन त्यसैले अहिले केही व्यवस्था छैन । लकडाउन हुने अवस्था आएमा नेपाल सरकारको नियम अनुसार गर्नेछौं ।

संक्रमण थप नफैलिओस भन्नका लागि के उपाय अपनाउनु भएको छ ?
उपाय भन्नाले तयारी र सचेतना हो । संक्रमित छ भने होम आइसोलेशनमा बस्नेलाइ स्वयमसेविका र स्वास्थ्यकर्मीहरुले आवश्यक परामर्श दिन्छौं ।

अब कुरा गरौ भ्यक्सिनको । पालिकामा कति जनाले भ्याक्सिन लगाए ?

पालिकामा हालसम्म भ्याक्सिन लगाएकाको संख्या एक हजार तीन सय ९४ छ ।

पुरै पालिकाका जनतालाई कहिलेसम्म भ्याक्सिन लगाउने योजना छ ?
त्यस्तो समयावधि केही छैन त्यो भ्याक्सिनको उपलब्धतामा भर पर्छ । हाम्रो उद्देश्य सबैलाई भ्याक्सिन लगाउने हो ।

कोरोना महामारी सामना गर्न के रणनीति छ यस पालिकाको ?
मिडियाबाट जनचेतना जगाउने बाहिरबाट आउने मान्छेको निगरानी र होम क्वारेन्टाइनमा जाने व्यवस्था गर्छौ ।

पलिकाको मुख्य समस्या चुनौती के हो ?
हाम्रो मुख्य समस्या बजेट हो । बजेट अभावले कोभिडको पूर्णतया रोकथाम गर्न सकेका छैनौ । हामीसंग पीपीई किट इत्यादिको कमी छ । दक्ष मानव संशाधनको कमी छ । सरकारले कोभिड महामारी नियन्त्रण गर्ने हो भने स्थानीय तहलाई आर्थिकलगायत सबै तरिकाले सशक्त बनाउनुपर्छ ।

अन्तमा पालिकाका जनतालाई केही भन्न चाहनु हुन्छ ?

कोरोना महामारीको दोस्रो लहरबाट बच्न सामाजिक दुरी अपनाउने स्वास्थ्य मापदण्डको पालना गर्ने समस्या परेमा स्वास्थ्यकर्मीसंग समस्या राख्न अनुरोध गर्दछु नआँत्तिनुहोस् तर उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्छु ।


१७ वैशाख २०७८, शुक्रवार २१:०१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु