भागरथीलाई न्याय माग्दै माइतीघरमा धर्ना बसेका विद्यार्थी नेताहरु पक्राउ
बैतडीमा हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्यारालाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा धर्ना बसेका विद्यार्थी नेताहरु पक्राउ परेका छन्।
अखिल (छैठौं) को आयोजनामा भएको धर्ना कार्यक्रमबाट अध्यक्ष विमल पोखरेलसहित नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो। प्रहरीले गण्डकी प्रदेश सांसद सुप्रभा थापालाई पनि नियन्त्रणमा लिएको छ।
अखिल (छैठौं) का सचिव सुवास जिसी, राष्ट्रिय परिषद सदस्य सुमन पौडेल, केन्द्रीय सदस्य विवेक जिसी र प्रतिभा आचार्य, काठमाडौं जिल्ला उपाध्यक्ष ध्रुव बस्याललगायत नेताहरुलाई पक्राउ गरेको अध्यक्ष विमल पोखरेलले जानकारी दिए।
पक्राउ गर्ने क्रममा आफुहरुलाई लछारपछार गरिएको र केही साथीहरु घाइते भएको अध्यक्ष पोखरेलले बताए। पक्राउ गरिएका नेताहरुलाई महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ।
अखिल (छैठौं) ले भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ती दिन माग गर्दै राजधानीसहित देशका विभिन्न भागमा प्रदर्शन गरेको छ।
२५ माघ २०७७, आइतवार १६:३२ बजे प्रकाशित












