प्रदेश सभा विघटनको संकेत, मन्त्री भट्टले भने, ‘पहिले व्यवहार हेर्छौं’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रदेश सभा विघटन हुनसक्ने संकेत गरेका छन् । धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो संकेत गरेका हुन् ।
अहिले प्रदेश सरकारको व्यवहार हेरिरहेको भन्दै मन्त्री भट्टले त्यसकै आधारमा स्थायी समितिले निर्णय लिने बताए । ‘अहिलेनै हामीले प्रदेश सभा विघटन गर्ने भन्ने कुनै छलफल गरेका छैनौं,’ उनले भने, ‘उहाँहरुका क्रियाकलाप र व्यवहार हेरेर स्थायी समितिले गरेको निर्णयका आधारमा कदम चाल्छौं ।’ उनले प्रदेशसभा विघटन गर्ने अवस्था आइपरे पछि नहट्ने बताए ।
प्रदेशको पछिल्ला गतिविधिबारे स्थायी समिति र सरकारले गम्भीरतापूर्वक हेरिरहेको उनले बताए । प्रदेश सरकार र प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘उहाँहरुले हामीप्रति गर्ने व्यवहार कस्तो हुन्छ, भन्नेबारे हेरिरहेका छौं, त्यसकै आधारमा स्थायी समितिले गरेको निर्णयका आधारमा सरकारले कदम चाल्छ ।’
मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति पनि आक्रोश व्यक्त गरेका छन् । उनले मुख्यमन्त्री भट्टसंग राजनीतिक संस्कारनै नभएको भन्दै आक्रोश पोखे । संस्कार नभएकै कारण बिना जानकारी भौतिक मन्त्रीलाई हटाएको भन्दै उनले भने, ‘हामीले उहाँलाई विगतमा राजनीतिक संस्कार सिकाउन भुल्यौं, त्यसकारण अहिले यहाँ संस्कार देखिएन ।’ बिना जानकारी भौतिक विकास मन्त्रीलाई पनि हटाइएको भन्दै आक्रोश व्यक्त गरे ।
आन्दोलनमा खेलेको भूमिका हेरेर मुख्यमन्त्री बनाइएपनि राजनीतिक संस्कार नभएकै कारण अहिले उहाँ प्रचण्ड–नेपाल समूहमा लागेको बताए ।
२० पुस २०७७, सोमवार १९:१९ बजे प्रकाशित































