बैतडीमा १ लाख ६५ हजार मूल्य बराबरको अवैध बिँडी बरामद
बैतडीमा १ लाख ६५ हजार मूल्य बराबरको अवैध १० पेटी बिँडी सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको बिँडी शनिबार बिहान पौने २ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका ६ गाँजरीबाट बरामद गरेको हो।
रातीको समयमा अवैध रुपमा बिँडी ल्याउँदै गरेका मानिसहरु भने सशस्त्रको टोली देख्ने बित्तिकै बिँडी छोडेर भागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउँदले बताए ।
सीमा नाका बन्द हुँदा महाकाली नदीमा ट्युबमार्फत भारतबाट बिँडी ल्याएको हुनसक्ने सशस्त्र प्रहरी निरीक्षक साउँदले बताए। बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको उनले जानकारी गराए।
चालु आर्थिक वर्षको अहिलेसम्म ३ लाख बढीको अवैध सामग्री बरामद गरेर भन्सार कार्यालयमा बुझाइसकेको सशस्त्र प्रहरीले बताए। सीमा क्षेत्रमा हुने अवैध कारोबार रोकथामका लागि सशस्त्र प्रहरीले नियमित रुपमा गस्ती गरिरहेको सशस्त्र प्रहरी निरीक्षक साउँदले बताए ।
११ पुस २०७७, शनिवार १४:५४ बजे प्रकाशित






























