युद्धसँग जोडिएको धार्मिक परम्परा : पितृ मोक्षका लागि विशेष पूजा
सुदूरपश्चिमस्थित डडेल्धुरा जिल्लाको छुट्टै राजनीतिक र ऐतिहासिक महत्व छ । नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लडेको कारण पनि यो जिल्ला चर्चामा आउने गर्छ । यति मात्र नभई विभिन्न धार्मिक परम्पराका कारण पनि डडेल्धुरालाई प्रसिद्ध जिल्लाका रुपमा लिइन्छ ।
इतिसमा उल्लेख गरिएअनुसार बडाकाजी अमरसिंह थापाले युद्ध लड्दा सैन्यबलसँग जोडिएर डडेल्धुरा पुगेकाहरुले पितृको मोक्षका लागि गर्ने विषेश पूजा पनि एक महत्वपूर्ण धार्मिक परम्पराको रुपमा जोडिएको छ । वर्षौदेखि चलिआएको यो परम्परामा सैन्यबलसँग जोडिएर पुगेका जैरु परिवारहरुले आफ्ना दिवंगत पितृहरुको सम्झनामा विषेश पूजाआजा गर्छन् ।
आफ्ना दिवंगत पितृको स्मरणमा गरिने पूजापछि वनभोजसमेत गरिने गरिएको स्थानीय भरत जैरुले बताए । उनकाअनुसार महिलाहरु डोको बोकेर लावालस्करसहित घरबाट निस्किने परम्परा छ । उनीहरुको डोकोमा पूजाआजका साम्रगीसहित कुखुरा समेत हुने गर्दछ । र, उनीहरु सदरमुकामै रहेको नजिकैको मन्दिरमा पुगेर पितृको मोक्षको कामना गर्दछन् ।
यहाँ धामी झाक्री नाँच्ने र बलि दिने चलनसमेत छ । आफ्ना दिवंगत पितृको मोक्षको प्रार्थना गरी जीवनभर गरिएको पापलाई तार्ने विश्वास रहिआएको रामबहादुर जैरु बताउँछन् । यसलाई स्थानीय भाषामा डाडाँको पूजा समेत भन्ने गरिएको उनले बताए । जुन परम्परा बडाकाजी अमरसिंह थापाको इतिहाससँग जोडिएको छ ।
बडाकाजी अमरसिंह थापाले देशका लागि विभिन्न जिल्लाका किल्ला, गडलगायतका स्थानमा शत्रुलाई रोक्ने काम गरे । त्यस्तै डडेल्धुरामा पनि अमरगढी किल्ला निर्माण गरि सोही किल्लाबाट शत्रुलाई रोक्ने काम गरेको इतिहास छ ।
२७ मंसिर २०७७, शनिवार १५:५५ बजे प्रकाशित













