यातायात र पसल खुलेपछि उपत्यकामा ह्वातै बढ्यो चहल–पहल
काठमाडौंमा तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो बनेसँगै खुलेको यातायात र पसलका कारण उपत्यकामा मानिसको चहलपहल ह्वातै बढेको छ ।
काठमाडौं उपत्यकामा जोर–विजोरका आधारमा सवारी चल्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् ।
सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् । निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा सवारी चाप बढेको छ ।
लामो समयदेखि आफ्नो पेसा, व्यवसाय बन्द गरे बसेकाहरु पनि व्यवसाय सञ्चालनमा फर्किएका छन् । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको समन्वयमा निषेधाज्ञा खुकुलो पारिएपछि आज (बिहीबार) तीन सातादेखि बन्द पसलहरु खुलेका छन् ।
तर, व्यापारीले पसल खुला गरे पनि ग्राहकको संख्या भने एकदमै कम छन् । व्यपारी व्यवसायीहरु अब ग्राहकको पर्खाइमा छन् । उनीहरु अब निषेधाज्ञा खुलेकाले नजिकिंदो दशैं–तिहारमा व्यापार बढ्ने आशामा छन् ।
यस्तै निषेधाज्ञाका कारण सबैभन्दा ठूलो समस्यामा परेका मजदुर, भरिया समेत आज सडकमा निस्किएका छन् । उनीहरुले आज फाटफुट काम पाएका छन् ।
२५ भदौ २०७७, बिहीवार १४:१० बजे प्रकाशित













