गाडी चढ्न नसक्ने पुल !

कल्भर्ट आवश्यक हुने ठाउँमा ‘आकाशे’ पुल बन्दा सास्ती

अंकुश कुँवर
धनगढी, साउन २० । हुलाकी सडक अन्तर्गत कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ स्थित कटैनी खोलामा बनेको पुल सवारीमैत्री नभएको देखिएको छ । कल्भर्ट आवश्यक हुने स्थानमा पुल बनेको र त्यसमा पनि आवश्यक भन्दा बढी उचाईमा बनाउन सवारी आवागमनमा समस्या उत्पन्न भएको छ ।

खोलामा पुल बनेपनि अधिकांश समय सवारी साधान खोलाकै बाटो भएर वारपार गर्ने गरेका छन् । वर्षातको बेला खोलामा पानी र सडकमा हिलो हुने हुँदा असहज पुलका कारण सो बाटो भएर सावारी साधन सञ्चालनमा समस्या भएको छ ।

सो क्षेत्रमा सबैभन्दा बढी प्रयोगमा आउने गोरु गाढा अग्लो पुलमा चढ्नै सक्दैनन् । लोड भएका अन्य सावारी साधनहरु पनि सो पुल भएर चल्न सक्दैनन् । अटो रिक्सा पनि खोलामा जान सकिने अवस्थामा पुल भन्दा पनि खोलाकै बाटो भएर ओहोरदोहार गर्छन् ।

जमिनको सतहभन्दा निकै उचाइमा बनेको पुल चढ्न समस्या भएपछि पुल मुनिकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय तपराज चौधरीले बताए । ‘सडकको सतह भन्दा उचाईमा पुल निर्माण हुँदा ट्याक्टर, साइकल, गोरुगाडालगायत सवारीसाधन पुलमा उक्लिनै मुस्किल पर्छ,’ उनले भने, ‘गोरुगाडा र सामान बोकेका रिक्सा त चढाउनै सकिन्छ ।’ उनकाअनुसार लोड गरिएका ट्याक्टर पनि पुलमा चढ्न समस्या हुन्छ ।

अहिले खोलामा पानी भएका कारण चढ्न सक्ने सावारी साधान बाध्यताले पुल प्रयोग गरिरहेका छन् । हिउँदको समयमा भने यो पुल प्रयोगविहीन अवस्था हुने गर्छ । अझै पनि हिलो भएपनि खोलामा जानसक्ने अवस्थामा सवारी साधान खोलाकै बाटो भएर चल्ने गर्छन् । उक्त पुल हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले एक करोड २० लाख रुपैयाँ लागतमा निर्माण गरेको हो ।

पुलको उचाइ अनुसार सडक उठाउने हो भने त्यहाँ भएका घरहरु सबै तल पर्छन् भने बाटो नै अवरुद्ध हुनेछ । हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले पुल खोलाको सतहबाट साढे चार मिटर उचाइमा रहेको बताए । उनकाअनुसार हुलाकी सडक आयोजनाले बनाएको २२ दशमलव ८५ मिटर लामो उक्त पुल गत आर्थिक वर्षको अन्त्यतिर सम्पन्न भएको थियो ।

कल्भर्ट आवश्यक पर्ने सानो खोलामा पुल बनाउनु नै प्राविधिक त्रुटि भएको उनले स्वीकार गरे । पुल अग्लो हुँदा प्रयोगविहीन भएको उनले बताए । उनकाअनुसार स्थानीयको विरोधपछि हुलाकी सडक आयोजना कार्यालय धनगढीले पुलको उचाइ घटाउन केन्द्रलाई सिफारिस गरेको थियो । तर, केन्द्रले डिजाइन परिवर्तन गर्न नमानेपछि पुरानै डिजाइनमा पुल बनेको हो ।

ईन्जिनियर मडैकाअनुसार सो पुलसंग सडकको ‘लेभल’ मिलाउन पुलको दुबैतिर करिब एक सय मिटर टाढाबाट सडकको उचो गर्नुपर्छ । यसले सडकको लागत बढाउनुका साथै सो ठाउँको बस्तीलाई पनि समस्या निम्तिएको छ । सडकको दुईतिर बस्ती छ । एकतिर सानो बजार पनि छ ।

पुलका कारण सडक माथि उठ्ने भएपछि स्थानीय चिन्तित बनेका छन् । सडक छेउका घरहरुभन्दा माथि सडक हुने भएपछि बाटो पनि अवरुद्ध उनीहरुको भनाई छ ।


२० साउन २०७७, मंगलवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु