कैलालीमा हत्याको आरोपमा चार जना पक्राउ
धनगढी,असार १३ । कैलालीमा युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ का २० वर्षीय मिलन ऐर, २१ वर्षीय सागर बोहरा, ३२ वर्षीय प्रभात चौधरी र वडा नम्बर ३ का २२ वर्षीय विक्रम बिष्ट रहेका छन्।
घोडाघोडी नगरपालिका वडा नम्बर १ का २२ वर्षीय गोविन्द सापकोटाको हत्यामा संलग्न रहेको भन्दै उनीहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ। सापकोटा गत जेठमा घोडाघोडी नगरपालिका ८ मा पर्ने करुवा खोलामा मृत भेटिएका थिए।
मृतककी आमाले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई बीहिबार साँझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरिक्षक हरीशरण भट्टले बताए ।
१३ असार २०७७, शनिवार ०५:१९ बजे प्रकाशित































