punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फरक कथा जिन्दगीको !

Chaupati
safha napa

चुलो चुलोमा ग्याँस आइदिए
कुकरमा चामल
कराईमा तरकारी
बट्टा बट्टामा अचार
हर्लिक्सको डिब्बामा घिऊ
अर्को डिब्बामा मह
अझ थाल थालमै भात आइदिए
आहा ,
हामी पनि गाउँने थियौं यो समय-
साबुन पानीको गीत !

अझ मिल्छ भने
विहान ननभेज
साँझ भेज
आइतवार-
मटन करी र बँदेल फ्राई
सोमवार-
मिर्गको मासु
मंगलवार-
सिङ्गै कालिज फ्राई
बुधवार-अष्ट्रिजको रोष्ट
बिहीवार-पोर्क सेकुवा
शनिवार- वफ छोयला
यस्तो यस्तो भैदिए
अनि पो गजव हुने थियो- लकडाउन
अनि पो भव्य हुन्थ्यो- स्टे होम
अनि पो करामत हुन्थ्यो – क्वारेन्टाइनमा !

यस्तो भैदिए पो
सुनिरहुँझैं प्रितीकर लाग्थ्यो-
प्रधान मन्त्रीको भाषण
यस्तो भैदिए पो
आफ्नै जस्तो लाग्थ्यो
प्रचण्ड जीको दैनिक खानपिनको तालिका
यस्तो भैदिए पो
रमाइलो लाग्थ्यो-
प्रहरीले लाठी वर्षाएको समाचार !

अहँ आफ्नो त त्यस्तो केही भैदिएन
अझ उल्टो उल्टो पो भैदियो !

यही बेला बन्द भयो काम
यही बेला रित्तियो गोजी
यही बेला उदास देखियो चुल्हो
यही बेला झन् रोए छोराछोरीहरू
यही बेला बटारिएर आयो पेट
यही बेला बन्द भए गाडी
र यही बेला सतायो घरको संझनाले !

घरको संझनाले मात्रै त कसरी भनौं खै ?
भोलिको लागि
फेरि तपाईलाई काम गर्न चाहिने
भोलिको लागि
फेरि तपाईलाई भोट हाल्न चाहिने
भोलि तपाइको लागि
फेरि झण्डा बोक्न चाहिने
यो एक थान जिन्दगीको
खै किन किन माया लागेर आयो !

कमरेड मालिक !
आफैले दिपावली गरेको संबिधान
कसलाई नमान्ने रहर हुन्छ र ?
आफैले भोट दिएको सरकारको
पड्किन लागेको बन्दूकजस्तो आदेश
कसलाई पो तोड्ने आँट हुन्छ र ?
झिटी गुन्टा बोकेर काँधमा
डोर्याउँदै लालावाला
यो झिलिमिली सहर छोडेर पैदलै पैदल
कसलाई पो हिड्न मन हुन्छ र ?
तर माफ गर कमरेड मालिक
यो एक वारको जुनी
फेरि तिमीलाई भोट नहाले पनि
फेरि तिम्रो झण्डा नसमाए पनि
आफ्नै जिन्दगीको झण्डा समाउँन
फेरि एक पटक काम लाग्न सक्छ
आफ्नै जिन्दगीको जुलुस निकाल्न
फेरि एक पटक चाहिन सक्छ
त्यसैले सुरु भएको छ यो पैदल यात्रा !

यो पैदल यात्रालाई तिमी
हाम्रो लम्वे अभियान संझे पनि संझ
यो पैदल यात्रालाई तिमी
तिम्रो आफ्नै शवयात्रा संझे पनि संझ
तिमीलाई जे पनि संझने छुट छ
हामी भने
तिम्रो आदेशको भद्र अवज्ञा गर्दै
हामीले सुरु गर्यौं यो यात्रा !

माफ गर कमरेड मालिक
यो भद्र अवज्ञा यात्रा
अभद्रतामा बदलियो भने
कि तिमी हुने छैनौ
कि हामी हुने छैनौं !

बलराम तिमिल्सिना
भक्तपुर


७ वैशाख २०७७, आइतवार ०७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु