स्वस्थानीः ब्रत बसेर पुरुष पाइन्छ भन्ने मान्यता
विमल नेपाल
केही दिनअघि संसदमा बोल्दै सांसद यसोदा सुवेदीले भनिन्, ‘छाउगोठभन्दा पहिला स्वस्थानीका पाना च्यात्नुपर्छ ।’ सांसद सुवेदीको उक्त भनाई निकै विवादित बन्यो । हिन्दू धर्मका अनुयायीले सुवेदीको उछितो काडे । ‘पश्चिमाको पैसा खाएर मुलुकमा धार्मिक युद्ध गराउने खोजेको’सम्म आरोप लगाए । कतिपयले भने सुवेदीको तर्क जायज भएको प्रतितर्क गरिरहेका छन् ।
टिप्पणी र समर्थन गर्नेका आ–आफ्नै मत छन् । तर, कतैप्रति पूर्वाग्रह नराखी भन्ने हो भने सांसद सुवेदीको भनाईलाई जबरजस्त विवादित बनाउनु पर्दैन । किनकि यो बहसको विषय हो ।
धर्मप्रति आस्था भएकै कारण हरनाजायज र विभेदकारी कथालाई स्वीकार्नु पर्छ भन्ने होइन । र फरक धर्मप्रति आस्था राखेकै कारण सांसद यसोदाको मतलाई ज्यादा हौसियर समर्थन गर्नु पनि आवश्यक छैन । यसोदाले कुन अर्थमा त्यसो भनिन् ? बेग्लै कुरा हो । आरोप लागेजस्तै अरु धर्मावलम्बीको लहैलहैमा लागेर वा कुनैखाले प्रलोभनमा लोभिएर नियतबश हिन्दू धर्ममाथि प्रहार गरेको भए बेग्लै कुरा हो । तर, उनले संसदमा जुन मत राखिन्, त्यो सही छ ।
छाउगोठमा निसासिएर महिलाको मृत्यु भएका खबर आइरहेको परिवेशबीच उनले सांसदमा ‘छाउगोठभन्दा पहिला स्वस्थानीका पाना च्यात्नुपर्छ ।’ भनेकी हुन् । स्वभाविक जैविक तथा प्रजनन प्रक्रियाअन्तरर्गत हुने महिनावारीका बेला सानो, झ्याल–ढोका नभएको र फोहोर झुपडीमा महिलालाई थुनेर राख्ने कुप्रथा हटाउन सकस भइरहेका बेला यसोदाले कारण खोजिन् ।
महिलामाथि भएको अत्याचार, दमन र विभेदविरुद्ध आवाज उठाउनु पहिला कारण खोज्नु स्वाभाविक मात्रै होइन, आवश्यक पनि हो । आजको उत्तरआधुनिक समाजमा पनि महिलालाई ‘दोस्रो दर्जा’मा राखेर हेरिनु र व्यवहार गरिनुले हाम्रो निम्छरो चेतनालाई बुझाउँछ । पुरुषसत्ताले ग्रस्त समाजमा अनेक बहाना बनाएर महिलामाथि अत्याचार गरिएका थुप्रै नजीर छन् । धार्मिक, सामाजिक, आर्थिकलगायत सबै हिसाबमा महिलालाई विभेद गरेर नियम बनाइएको छ । र, त्यो नियम मान्न बाध्य बनाइन्छ । नमाने ‘अधार्मिक, असामाजिक र अराजक’को आरोप लगाइन्छ ।
हाम्रो सामाजिक नियम केले बनायो ? महिलामाथि विभेद गर्नैपर्ने चेतना केले निर्माण गर्यो ? हाम्रो धारणाको जग के हो ? यसबारे नबुझी उत्तेजना वा भावनामा बहकिएर तर्क–टिप्पणी गर्नु राम्रो होइन । निश्चय नै हाम्रो सामाजिक नीतिको खास आधार भनेको धर्म नै हो । अरुमाथि हाबी हुन वा सत्ता जमाउँन तत्कालीन समाजका बुज्रुकले अनेक धर्मको उत्पादन गरे । धर्मका नाममा नियम बनाए । धर्मलाई अरुमाथि शासन गर्ने आधार बनाए । धर्मलाई बंग्याएर आफूअनुकुल बनाउनेमा बाहुन जाति अगाडि छ । बाहुनमा पनि पुरुष हाबी छन् । र, पुरुष बाहुनले हिन्दू धर्ममाथि स्वामित्व जमाउन खोजे । परिणामतः पुरुष बाहुनले धर्मको आडमा जातजाति र महिलामाथि विभेद गर्ने नियम बनाए । त्यसका थुप्रै उदाहरणमध्यको एक हो, छाउपडी प्रथा ।
महिलालाई जबरजस्त कमजोर सावित गर्न बनाइका सयौं नियममध्येको एक मात्रै हो, छाउपडी । हिजो सतिप्रथा, देउकीप्रथा जस्ता जधन्य अपराधिक प्रथा थियो । प्रथा नै बनाइएका ती महिलाविरोधी नियम जबरजस्त लादिएको थियो । महिलालाई त्यो विभेद हो भन्ने चेतना आउँनै दिइदैनथ्यो । क्रमशः चेतना बढेसँगै केही घातक प्रथाको अन्त्य भयो । केहीको अवशेष बाँकी छ । देशको सुदूरपश्चिम क्षेत्रमा त छाउपडी जस्तो कुप्रथा कायमै छ । अझै उक्त प्रथा कायम रहनुले हाम्रो चेतनास्तरलाई बुझाउँछ ।
हो, छाउपडी जस्तो अन्यायकारी प्रथा कायम राख्ने गरी हाम्रो चेतना बनाउने अनेक आयाममध्येको एक हो, धर्म । धर्ममा पनि हिन्दू । र, हिन्दूका अरु कथाजस्तै स्वस्थानी ब्रतकथा । स्वस्थानीय ब्रतकथामा महिलामागि गरिएको विभेदबारे उल्लेख गरिरहनु नपर्ला । किनकि, स्पष्ट छ कि, त्यो कथा महिलाविरोधी छ । महिलालाई पुरुषको दासका रुपमा प्रस्तुत गरिएको कथा हो त्यो । ब्रत बसेर पुरुष पाइन्छ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको छ, स्वस्थानी कथाले । त्यस्तै, महिनावारी हुने कुरालाई अपराधिक गतिविधि जस्तो बनाएर उल्लेख गरिएको छ ।
त्यस्ता कथालाई पत्याएर बनेको धारणा हो, धेरैको । अझ धर्मको हवला दिएर विभेद गर्न पाउनुपर्ने कुतर्क गरिरहेका छन् । भ्रामक र कपोकल्पित कथालाई पत्याएर बनेको धारणा नभत्काएसम्म महिलामाथि हुने विभेदको अन्त्य हुँदैन । त्यसैले हाम्रो धारmणा बनाउन प्रयोग भएको स्वास्थानी ब्रतकथाका केही पाना नच्याती छाउगोठ मात्रै भत्काएर हुँदैन भन्ने सांसद सुवेदीको तर्कमा दम छ ।
सरकारले छाउगोठ त भत्काउला तर ‘छाउ मानसिकता’ भत्काउँन सक्दैन । त्यसैले विभेदको स्वस्थानी ब्रतकथालाई परिमार्जन गरिनुपर्छ ।
४ फागुन २०७६, आइतवार ०९:२७ बजे प्रकाशित