मोहना–अत्तरिया सडक

धनगढी,

निर्माणाधिन मोहना अत्तरीया छ लेन सडकको म्याद थप्ने बिषय अझै टुंगो लाग्न सकेको छैन । गत जेठ ९ गते सडकको निर्माण सम्झौता अवधि सकिएको थियो । तर म्याद सकिएको दुई महिना पुगेपनि म्याद थपको बिषय टुंगिन नसकेको हो । जसले गर्दा आयोजनाको काम कहिलेसम्म रहन्छ भन्ने टुंगो लाग्न सकेको छैन । आयोजना कार्यालयले भने चालू आर्थिक बर्षभित्रै काम सम्पन्न गर्नेगरी म्याद थप गर्ने मोटामोटी तयारी गरेको छ । तर सडक निर्देशनालयले भने निर्माण व्यवसायीहरुलाई १ बर्षभित्र काम सक्ने लिखित पत्र माग गरेको छ ।

गत जेठ ९ गते निर्माणाधिन मोहना अत्तरीया छ लेन सडकको पहिलो सम्झैता सम्पन्न भएको थियो । सम्झौता सम्पन्न भएको २ महिनासम्म पनि म्याद थप्ने बिषयले टुंगो पाउन सकेको छैन । आयोजनाको म्याद थपका लागि एक पटक सडक निर्देशनालयमा लेखि पठाउँदा काम सम्पन्न गर्ने स्पष्ट समयाविधि सहित लेखेर पठाउन आदेश आएको आयोजनाका इन्जिनियर खगेन्द्र बहादुर शाहीले बताए । अब निर्माण कम्पनिबाट एक बर्षमा काम सम्पन्न गर्ने समय स्पष्ट लेखेर पठाउन भनिएको हुँदा सो पत्र गएपश्चात चालू आर्थिक बर्ष भित्रै काम सम्पन्न गर्ने गरी म्याद थप गरिने उनको भनाइ छ ।

निर्माण कम्पनीहरुले भने म्याद थप नभए पनि निर्माण कार्य जारी राखेका छन् । झन्डै पौने ५ किलोमिटर सडक निर्माण गरिरहेको शर्मा अमर नागार्जुनको जेठ ९ गते ठेक्का सम्झौता सकिएको थियो । पछिल्लो समयमा कामले गति लिएको भन्दै दशैंबाट कालोपत्रेको काम सुरु भएर चालू आर्थिक बर्ष भित्रै काम सम्पन्न गर्ने निर्माण कम्पनि शर्मा अमर नागार्जुन प्रालीका इन्जिनियर नबिन दवको दाबी छ ।

दोस्रो र तेस्रो प्याकेजको बाँकी झन्डै १० किलोमिटर सडकको निर्माण गरिरहेको लुम्बिनी राजेन्द्र डाँफे र लामा राजेन्द्र डाँफेको भने वैशाख ३० गते नै सम्झौता अवधि सकिएको थियो । अहिले ५० प्रतिशत बढी प्रगति भएको भन्दै निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले बर्षा सकिए लगत्तै कालोपत्रेको काम सुरु हुने र एक बर्ष भित्रै काम सम्पन्न गर्न उनको दाबी छ । बिभिन्न बाधा अवरोधका कारण सडक निर्माणमा ढिलाई हुँदा कम्पनिले डेढ बर्ष म्यमद थप मागेपनि सरकारको नयाँ नितिले १ बर्षभन्दा बढी समय नदिने हुँदा बाध्य भएरपनि १ बर्षृमा काम सक्ने उनको भनाई छ ।

२०७४ साल जेठमा २ बर्ष भित्रै काम सम्पन्न गर्ने सम्झौतामा अत्तरियादेखि बोराडाडीसम्म १ अर्ब १० करोडमा र बाँकी बोराडाँडी देखि मोहनासम्म ५१ करोड ७० लाखको सम्झौता भएको थियो । तर उक्त अवधिमा आधा मात्रै काम सकियो । अब म्याद थपमा भइरहेको ढिलाईले आयोजनाको काम कहिलेसम्म सम्पन्न गर्ने भन्ने टुंगो लाग्न सकेको छैन । ठेकेदारबाट एक बर्षमा काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता आएमा चालू आर्थिक बर्षमा काम सक्नेगरी म्याद गपिने आयोजनाले जनाएको छ ।

भौतिक प्रगती ५५ प्रतिशत

मोहना अत्तरिया सडकको भौतिक प्रगती ५५ प्रतिशत पुगेको आयोजनाको दावी छ । माटो भरानको काम अन्तिम चरणमा पुगेको जनाएको छ । अत्तरिया देखी मोहना पुलसम्म केही भागमा माटो भर्ने काम बाँकी रहेपनि अधिकांश क्षेत्रमा माटो भर्ने काम सकिएको आयोजनाका इन्जिनियर शाहीले जानकारी दिए । साथै नाली निर्माणको काम समेत सम्पन्न भइसकेको उनले जानकारी दिए ।

देखिने काम नभएपनि बढी समय लाग्ने काम सम्पन्न भइरहेकाले अब डराउनुपर्ने अवस्था छैन, उनले भने निर्माण कम्पनिले सही तरिकाले काम गर्ने हो भने १ बर्षमा काम सम्पन्न गर्न धेरै समस्या पर्दैन । गिट्टी तथा ग्राभेल हालेर पिच गर्न बाँकी रहेकाले दशैँ तिहार पश्चात पिचको काम शुरु हुनेमा उनि बिश्वस्त छन् ।


९ साउन २०७६, बिहीवार ०३:५५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु