कोरोना सङ्क्रमणबाट मृत्यु भएकी महिलाको अन्त्यष्टि
फाइल फोटो
कोरोना सङ्क्रमणबाट मृत्यु भएकी धनगढी उपमहानगरपालिका– १ की ६३ वर्षीया महिलाको आज नेपाली सेनाको टोलीले अन्त्यष्टि गरेको छ ।
कैलालीको तेघरी स्थित भवानी दल गणबाट सह–सेनानी नबल सिंह रोकायाको कमान्डमा खटिएको तालीम प्राप्त सैनिक टोलीले धनगढी–७ को देवरीयाको राष्ट्रिय वन क्षेत्रमा शवको अन्तिम संस्कार गरेको हो ।
गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम मृतकका आफन्त, स्थानीय पदाधिकारीहरूको उपस्थितिमा दाह संस्कार गरिएको गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा असोज ७ देखि उपचाररत ती महिलाको सोमबार मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि असोज ७ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा परीक्षण गर्दा उनलाई असोज १० गते सङ्क्रमण पुष्टि भएको थियो ।
१३ असोज २०७७, मंगलवार १५:०० बजे प्रकाशित































