जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र तथ्याङ्कमा आधारित पत्रकारिता तालिम बर्तमान समयको महत्वपूर्ण आवश्यकता र समय सान्दर्भिक भएको बताउनुभएको छ ।
अग्रलेख मल्टिमिडिया प्रा.लि.द्वारा आयोजित जलवायु पैरवी, विपद् व्यवस्थापन र डिजिटल सञ्चार, एआई तथा डेटामा आधारित पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जलवायु परिवर्तन र विपद्का घटनाले समाज तथा देशमा विभिन्न प्रकारका संकट सिर्जना गरिरहेको बताउनुभयो ।
उहाँले जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा व्यवस्थापनका विषयमा पत्रकारिता क्षेत्रमा आबद्ध व्यक्तिहरूले गर्ने अध्ययन, छलफल र पैरवीले सरकारलाई नीति निर्माण तथा योजना कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री भट्टले पछिल्लो १० वर्षमा जलवायु परिवर्तन तथा विपद्का कारण सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारको एक वर्षको बजेट बराबरको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै विपद् आउनुअघि नै पूर्वतयारी र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सरकार, सञ्चार क्षेत्र र आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले पत्रकारहरूले सुदूरपश्चिमका समस्या र चुनौतीसँगै यहाँ रहेका अपार सम्भावनाहरूलाई पनि उजागर गर्नुपर्ने बताउनुभयो । कृषि, उद्योग, पर्यटन तथा जलविद्युत् क्षेत्रका सम्भावनाको खोजी गर्दै आर्थिक उपार्जन र रोजगारी सिर्जना गर्ने दिशामा प्रदेश सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।
पत्रकारिताले सुदूरपश्चिमका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री भट्टले पछिल्लो समय एआईको प्रयोगले सूचना तथा सञ्चार क्षेत्रमा सहजता र सरलता थपे पनि त्यससँगै नयाँ जटिलता र चुनौतीसमेत सिर्जना गरेको बताउनुभयो । एआई प्रविधिको सही, जिम्मेवार र तथ्यपरक प्रयोग गर्दै पत्रकारहरूले सामाजिक रूपान्तरण, जनचेतना अभिवृद्धि र सकारात्मक सामाजिक अभियानमा समेत योगदान दिनुपर्ने उहाँले धारणा राख्नुभयो ।
उहाँले प्रविधिको विकाससँगै पत्रकारितालाई थप अनुसन्धानमूलक, तथ्यमा आधारित र जिम्मेवार बनाउन यस्ता तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
२८ कात्तिक २०८३, शनिवार १२:५३ बजे प्रकाशित














